काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शनिवार विहानै नयाँ बानेश्वरको साइकल लेनमा मज्जाले साइकल चलाएपछि साइकल यात्रीहरु निक्कै हौसिएका थिए।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाको २५ औं बार्षिक उत्सव तथा महानगर दिवसको अवसरमा काठमाडौंको माइतिघर देखि कोटेश्वरसम्मको अढाई किलोमिटरको साइकल लेनको उदघाटन गर्ने क्रममा आफैले साइकल चलाएका हुन्। काठमाडौं महानगरपालिकालाई साइकल मैत्री बनाउने मेयर शाक्यले चुनावी घोषणा–पत्रमा उल्लेख गरेबमोजिम आफूले काम गरेर देखाएको बताएका छन्।

साइकल यात्रीहरुलाई सहज र सरल ढंगवाट साइकल चलाउन काठमाडौं महानगरपालिकाले सडकमा छुट्टै लेन तोकेको छ। सडक पेटीमा यसअघि नै छुट्याइएको डेडिकेटेट लेनलाई महानगरपालिकाले साइकल लेन तोकेको हो। शहरी बाताबरण मैत्री बनाउन साइकल लेनले विशेष महत्व राखेको काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बताएकी छन्। स्वास्थ्यको हिसावले साइकलको यात्रा राम्रो भएको उपमेयर श्रेष्ठको भनाई रहेको छ।


प्रकाशन मिति–२०७६ साल मंसिर २८ गते शनिवार ।