इजरायल । हालै साईप्रसमा सामान्य विवादपछिको आवेशपूर्ण वारदातमा रत्ननगर–११, चितवन, नेपाल स्थायी ठेगाना भएका हाल साईप्रसको सिटी युनिटी कलेजमा अध्ययनरत विद्यार्थी विवेक अमगाईको हत्या भएको छ।

यस दुःखद घटनाप्रति इजरायलस्थित नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। त्यस घटनामा ज्यान गुमाएका विद्यार्थी विवेक अमगाईप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना पनि इजरायलस्थित नेपाली राजदूतावासले व्यक्त गरेको विज्ञप्ति मार्फत जनाएको छ।

मृत्युको खबर दिने तथा घटनाका दुई पक्षहरु बीच यथोचित सन्तुलन मिलाउन सघाउने साईप्रसस्थित अवैतनिक वाणिज्यदूत, नेपाली संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी लगायत सबैलाई दूतावासले हार्दिक धन्यवाद दिँदै मृतकको शवको नेपाल फिर्तीमा समेत साइप्रसमा रहेका नेपालीहरुलाई सहजीकरण गर्न दूतावासले अनुरोध गरेको छ।

त्यसरी सामान्य विवादका क्रममा पनि अनपेक्षित, अकल्पनीय एवं जघन्य अपराध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुनै पनि घटना वा प्रक्रियाका सम्बन्धमा आपसी आरोप प्रत्यारोपमा नउत्रन, कसैको चरित्र हत्या गरेमा साईबर अपराधको अभियोगमा सजाय हुन सक्नेतर्फ सजग रहन, संकीर्णता र अहंकारलाई त्याग्न, आपसी सहयोग र प्रेमलाई आत्मसात गर्न तथा सानातिना मनोमालिन्यलाई बिर्सेर मानवीय मूल्य–भातृत्व प्रवर्द्धनमा योगदान गर्न ईजरायल र साईप्रसमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई साईप्रस पनि हेर्दै आएकी इजरायलकी नेपाली राजदूत डा.अञ्जान शाक्यले आग्रह गरेकी छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख ३१ गते बुधवार ।