ललितपुर । साईकल महिला वडा सदस्यको रुपमा यतिखेर पूनम निरौलालाई चिन्ने गरेको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ की लोकप्रिय वडा सदस्य पूनम निरौला विगत दुई बर्षदेखि साईकल महिला वडा सदस्यको रुपमा चिनिन थालेको हो।

घरवाट वडा कार्यालय आउने देखि वडावासीका हरेक सेवामा पनि साईकल हाँकेर नै पुग्ने गरेकी पूनम निरौलाको लागि साईकल नै यातायातको प्रमुख साधन भएको छ। धेरैले स्कुटर चढ्न सल्लाह दिएतापनि आफूलाई साईकल नै सही लागेको भिजन संसार डटकमसंगको कुराकानीमा बताएकी छन्।

दुई बर्षअघि अष्ट्रेलिया भ्रमणका क्रममा त्यहाँ प्रायले साईकललाई महत्व दिएको देखेर आफूपनि नेपाल फर्केपछि साईकल यात्रामा आकर्षित बनेको खुलासा गरेकी छन्। साईकलको यात्रा सहज हुने गरेको तथा शारीरिक कसरत पनि हुने भएकोले स्वास्थ्यको दृष्टिकोणले साईकललाई नै सवारी साधनको रुपमा प्रयोग गरेको वडा सदस्य निरौलाको भनाई छ।

साईकल यात्रा गरेदेखि शारीरिक रुपमा स्फूर्ति बृद्धि भएको बताउंदै सकिन्छ भने, सवैलाई साईकलमा सवार भएर यात्रा गर्न पनि अनुरोध गर्न निरौला पछि पर्दिनन्।

नेपालका सात सयभन्दा बढी स्थानीय निकायमा साईकललाई सवारी बनाउनेहरुमा शहरीया वडा सदस्यमा संभवत पहिलो नै निरौला हुनुपर्ने आँकन गरिएको छ।

साईकल चढे्र वडावासीको सेवामा आउंदा सवैले निरौलालाई साईकल वडा सदस्य पनि भन्न थालिएको छ। जसमा निरौला खुशी र सुखी छन्। वडावासीको सेवामा नै आफूहरुको खुशी भएको तर्क पनि निरौलाको रहेको छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक २८ गते आइतवार ।