काठमाडौं । साउदी अरबले पाकिस्तानका लागि २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता दिने भएको छ। पाकिस्तान भ्रमणमा रहेका साउदी अरबका राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहायता दिने सम्झौतामा हस्ताक्षर गरेका छन्।

अघिल्लो वर्ष आर्थिक वृद्धि दर ५ प्रतिशतले वृद्धि गरेकाले पाकिस्तानको भविष्य उज्ज्वल रहेको भन्दै मोहमद बिन सलमानले पाकिस्तानलाई साउदीले आर्थिक सहयोग गरेको बताएका छन् । यसअघि राजकुमार सलमानलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री खानले साउदी अरबमा रहेका आफ्ना देशका मजदुरले भोगेका दुःखका बारेमा राजकुमार सलमानको ध्यानाकर्षण गराए । २५ लाख पाकिस्तानी नागरिक साउदीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री खानले उनीहरुमाथि कुनै प्रकारको भेदभाव नहोस् भन्ने चाहना ब्यक्त गरेका थिए ।

जवाफमा राजकुमार सलमानले आफू पनि पाकिस्तानको प्रतिनिधी रहेको जिकीर गर्दै समस्या समाधान हुनेमा ढुक्क हुन प्रधानमन्त्रीलाई आश्वासन दिएका थिए । पाकिस्तानले आफ्नो आर्थिक अवस्था कमजोर बनेको भन्दै विदेशी सहयोगका लागि अपील गर्दै आएको थियो ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल फागुन ६ गते सोमवार ।