काठमाडौ। साउदी अरबका लागि बेलायती राजदूत साइमन पाउल कोलिसले धर्म परिवर्तन गरेका छन्। हालै राजदूत साइमनले धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका हुन्। साइमनकी पत्नी हुदा मुजारकेशले पनि इस्लाम धर्मावलम्बी हुन्। साइमनले हज यात्राको तस्वीर ट्वीटरमा सेयर गरेका छन् भने सो तस्वीरलाई उनकी पत्नीले ‘रि–ट्वीट’ गरेकी छन्।

british-ambasdor-for-saudi-arab

राजदूत साइमनले ट्वीट गरेका छन्, ‘मैले तीस वर्षसम्म मुस्लिम समुदायसँग बसेपछि धर्म परिवर्तन गर्ने निष्कर्ष निकालेँ, हुदासँग विवाह गर्नुभन्दा ठिक अघि इस्लाम धर्म अपनाएँ ।’ ६० वर्षीय साइमन मुस्लिम धर्म अपनाउने बेलायतका पहिलो उच्च कुटनीतिज्ञ बने। मुस्लिम महिलासँग विवाह गर्नका लागि मुस्लिम धर्मावलम्बी नै हुनुपर्ने मुस्लिम धार्मिक मान्यताका कारण पनि राजदूत साइमनले हुदासँग विवाहका लागि धर्म परिवर्तन गरेको हुन सक्ने आशंका गरिएको छ।

राजदूत साइमन गत जनवरीमा साउदी अरबका लागि बेलायती राजदूत नियुक्त भएका थिए। त्यसअघि उनी सन् २००७ देखि २०१२ सम्म सिरियाका लागि बेलायती राजदूत थिए। उनले युएई, यमन, ट्युनिसिया लगायतमा मुस्लिम राष्ट्रमा लामो समय बिताइसकेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ गते शुक्रबार ।