saudi-womanकाठमाडौ। साउदी अरबको इतिहासमा नै पहिलो पल्ट शनिवार संपन्न पहिलो नगर परिषदको निर्वाचनमा पहिलोपल्ट महिला विजयी बनेकी छन्। मक्काको नगर परिषदमा महिला उम्मेदवार सलाम बिन हिजाब अल ओतिबी विजयी भएकी हुन्।

मुस्लिम समुदायका नागरिकका लागि सुप्रसिद्ध धाम मानिने मक्का मदिनास्थित मद्रकाह नगर परिषदमा उनी विजयी भएकी हुन्। महिलालाई सवारी हाँक्नसमेत प्रतिबन्ध लगाइने राजतन्त्रात्मक मुलुक साउदी अरबमा महिला स्वतन्त्रतामाथि निकै कडा प्रतिबन्ध लगाइएका छन्। यसअघि सन् २००५ मा गरिएको यस्तै परिषद निर्वाचनमा महिलालाई मताधिकार दिइएको थिएन।

यस पटक पनि महिलालाई पुरुष मतदाताबीच पुगेर मत माग्न प्रतिबन्ध थियो। ६ हजार पुरुष प्रतिश्पर्धीबीच ९ सय ७८ महिलाले निर्वाचनमार्फत् आफ्नो भाग्य परीक्षण गर्न उम्मेदवारी दिएका थिए। १४ लाख पुरुष मतदाता रहेको यस निर्वाचनमा करिब १ लाख ३० हजार महिलाले मात्र मत प्रयोग गर्न आफ्नो नाम दर्ता गराएका थिए।

निर्वाचनमार्फत् जनताको अभिमत बिरलै बुझ्ने साउदी इतिहासमै योसमेत जम्मा तीन पटक निर्वाचन भएको हो। महिलालाई मताधिकार सुनिश्चित गराउने काम दिवंगत राजा अब्दुल्लाहले गरेका हुन्। आफ्नो मृत्यु पूर्व राजा अब्दुल्लाहले मुलुकको माथिल्लो सल्लाहकार परिषद् शूरामा ३० जना महिलालाई मनोनित गरेर परिवर्तनको शुरुवात गरेका थिए। (एजेन्सी)

प्रकाशन मिति–२०७२ साल मंसिर २७ गते आइतवार ।