काठमाडौं। साउदी अरबका राजा सलमानले कोरोनाभाइरसबाट संक्रमित भएका स्थानीय नागरिकसहित विदेशी कामदारको निःशुल्क उपचार गर्न आदेश दिएका छन्। सरकारीका साथै निजी अस्पतालतबाट कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबले सबैखालका कामदारका लागि समान नीति लिएको छ। राजा सलमानको आदेशले गैरकानुनी हैसियतमा बसेका कामदारले समेत उपचार पाउने सुनिश्चित भएको छ। साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतका अनुसार, साउदीमा स्वदेशी र विदेशी कामदारबीच साउदी सरकारले भेदभाव गरेको छैन्।

नेपाली दूतावासले साउदीमा कम्पनी छोडेर कागजातविहीन भएका नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमणसम्बन्धी लक्षण देखिएमा नजिकको अस्पताल वा हटलाइनमा सर्म्पक गर्न अनुरोध गरेको छ। यो आदेशबाट साउदी अरबमा भिसा कानुन उल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन्।

साउदी राजाको आदेशसँगै यहाँका स्वास्थ्यमन्त्रीले कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन नहिच्किचाउन अनुरोध समेत गरेको छ।
प्रकाशन मिति–२०७६ साल चैत १८ गते मंगलवार ।