काठमाडौ। साउदी अरबमा सवारी दुर्घटनामा मृत्यु भएका १८ जना नेपालीका परिवारले झन्डै ७ करोड रुपैयाँ (२३ लाख ९९ हजार रियाल) ब्लडमनी पाएका छन् । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले पीडित परिवारका तर्फबाट अदालतमा मुद्दा लडेर ब्लडमनी (दिया रकम) दिलाएको हो।

पीडित परिवारको नाममा आएको रकम दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ।

ब्लडमनी पाउनेहरुमा झापाका भीम भट्टराई, धनकुटाका भूपालदेव लिम्बू, तनहुँका चित्रबहादुर थापा, सप्तरीका देवेन्दप्रसाद राय, खोटाङका देवराज राई, गोरखाका एकप्रसाद लामिछाने, सिराहाका शिवकुमार यादव, जाल मोम्मद रैन, मो। मुजाहिद शेख, मो.जाहिर मन्सुर, कास्कीका राजुबहादुर कुँवर, ललितपुरका रमेश पुलामी, खोटाङका रामनाथ राई, सिराहाका सलिम मियाँ, खोटाङका सन्तोष खत्री र गुल्मीका जयबहादुर सुवेदी रहेका छन्। उनीहरुले ५ हजार रियाल देखि तीनलाख रियालसम्म ब्लडमनी पाएका छन्।

‘साउदी अरबको प्रचलनअनुसार मृतकको धार्मिक आस्था र घटनामा निज (मृतक)को गल्तीको हिस्सासँग फैसला हुने रकम निर्भर रहने भएकोले फैसला भएको ब्लड मनी फरक फरक भएको हो,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रकाशन मिति–२०७५ साल साउन २४ गते विहीवार ।