काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढेसंगै नेपालमा सरकारले भोलि साउन २२ गतेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले वताएको हो।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र काठमाडौं उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने भएको छ। सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो।

यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो। तर, कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए। सोही सुझाव अनुसार नेपालमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय भएको सरकारी समाचार स्रोतले वताएको छ।
प्रकाशन मिति–२०७७ साल साउन २१ गते बुधवार ।