काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले आज थप ६ स्वर्ण पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा कायमै राखेको छ । यसका साथै नेपालले २९ स्वर्णपदक, १४ रजत र १९ कास्य पदकसहित कुल ६२ पदक जितेको छ। पदक तालिकामा नेपाल एक नंबरमा रहेको छ।

नेपालले आज बुधवार तेक्वान्दो, कराँते, उसु र साइक्लिङमा ६ वटा स्वर्ण पदक थपेको हो। आज भएको ८७ केजीमाथि तौल समूहमा तेक्वान्दोको फाइटमा सक्षम कार्कीले स्वर्ण जिते । उनले पाकिस्तानका वाकार अली साहलाई २७–९ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।

यसअघि नेपालकी संगिता बस्यालले ६७ केजी मुनीको तौल समुहमा स्वर्ण दिलाइन्। उनले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई १९–८ ले हराइन । योसँगै नेपालले तेक्वान्दोमा पदक संख्या १० पु-याएको छ। यस्तै, कराँतेमा अनुपमा मगरले स्वर्ण पदक जितिन् । कराँते कुमुतेको ६८ केजी तौल समूहमा अनुपमाले पाकिस्तानी खेलाडीलाई ६—३ ले हराउँदै नेपाललाई स्वर्ण दिलाएकी हुन्।

त्यसैगरी, उसुको पुरुष थाउलोतर्फ दीपक हमालले स्वर्ण पदक जितेका छन् । यससँगै कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । कराँतेमा नेपाल अहिलेसम्म कुनै पनि इभेन्टमा पदकविहीन हुनु परेको छैन।

यस्तै, नेपालले साइक्लिङको पुरुष—महिला दुवै इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको छ। डाउनहिल साइक्लिङमा नेपालले दुईवटा स्वर्ण पदक जितेको छ। गोकर्णस्थित सहिद पार्कमा आज डाउनहिलतर्फ पुरुष इभेन्टमा नेपालका राजेश मगर र महिला इभेन्टमा निश्मा श्रेष्ठले स्वर्ण पदक जिते ।

यही इभेन्टको रजत र कास्य पदक पनि नेपालकै निरभ श्रेष्ठ र प्राचित थापाले जितेका छन्। महिलातर्फ नेपालकै जमुना थापाले रजत जित्दा भारतकी यशोधारा मधुकरले कास्य पदक पक्का गरिन्। 

यसैबीच, सागको पदक तालिकामा २३ स्वर्ण पदकका साथ भारत दोस्रो स्थानमा रहेको छ। १९ वटा रजत र १२ कास्यका साथ भारतले कुल ५४ पदक हात पारेको छ। तेस्रो स्थानमा रहेको पाकिस्तानले ८ स्वर्ण, १४ रजत र १३ कास्यसहित कुल ३५ पदक जितेको छ।

यसैगरी, ७ स्वर्ण जितेको श्रीलंका चौथो स्थानमा रहँदा बंगलादेश ४ स्वर्णसहित पाँचौ स्थानमा रहेको छ। अहिलेसम्म एउटा मात्र स्वर्ण जितेको माल्दिभ्स छैटौँ स्थानमा रहँदा ३ वटा कास्य पदक हात पारेको भुटानमा तालिकाको पुछारमा रहेको छ।
प्रकाशन मिति–२०७६ साल मंसीर १८ गते बुधवार ।