काठमाडौं। नेपाल सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीहरु बधाई तथा शुभकामना दिदै नगद पुरस्कार दिने घोषणा गरेका हुन्।

सागमा स्वर्णपदक विजेतालाई जनही ९ लाख, रजतपदक विजेतालाई जनही ६ लाख तथा कास्यपदक विजेतालाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरिएको छ। टिम खेलका स्वर्णपदक विजेतालाई जनही पाँच लाख रुपैयाँ दिने बताइएको छ।

एकभन्दा बढी स्वर्णपदक जित्नेहरुले भने ११ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। एउटाभन्दा बढी स्वर्णपदक ल्याउने खेलाडीले ११ लाखका दरले पुरस्कार प्राप्त गर्नेछन्। गौरीका सिंहले सर्वाधिक पदक जितेकी छन्। जसले ५६ लाख पाउने भएकी छन्।

यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको छ।


प्रकाशन मिति–२०७६ साल मंसिर २५ गते बुधवार ।