काठमाडौ। महानगरीय प्रहरी परिसर काठमाडौंले साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चलचित्र निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विवेक नापित रहेका छन्।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुसहित उनीहरुबाट बरामद गरिएको नक्कली नोट सार्वजनिक गरेको छ। उनीहरुले विभिन्न स्थानमा राखेको दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन्। गोंगबु, लुभु र बागबजारबाट यी नोट बरामद गरिएको पनि प्रहरीले जनाएको छ।

बागबजारको नवज्योति प्रिन्टिङ प्रेसका सन्चालक प्रकाश सुवेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका सन्चालक विवेक नापितलाई नोट छाप्न दिएको पनि प्रहरीले जनाएको छ। नोट बनाउन प्रयोग गरिएका चारओटा ‘प्लेट’ पनि फेलापरेको प्रहरीले जनाएको छ। यस्ता नक्कली नोटहरु होटल रेस्टुराँमा बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवातास खेल्ने, लागुऔषध कारोबारमा लगाउने र सक्कलीमा मिसाएर बजारमा पुर्‍याउने गरिएको पनि प्रहरीको भनाइ रहेको छ।

वाग्ले चलचित्र ‘लुट’, ‘छड्के’, ‘रेशम फिलिली’लगायतका निर्माता तथा वितरक हुन्। वाग्लेको निर्माणमा हाल चलचित्र चंगा चेट निर्माणाधिन अवस्थामा रहेको छ। चलचित्र चंगा चेटको लागि नै उक्त नोट छापिएको निर्माता वाग्लेले प्रहरीलाई दिएको बयानमा उल्लेख रहेको छ। केही नोटमा चलचित्र चंगा चेटको छायाँकन प्रयोजनको लागि भनेर उल्लेख गरेको पाइएतापनि त्यतिका धेरै नक्कली नोट छापिनुको रहस्यको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशन मिति–२०७५ साल जेठ ३ गते विहीवार ।