काठमाडौं। जेठ १८ गते मंगलवारवाट सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान खुला भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरिदिएको हो।

प्राधिकरणको उडान अनुमति शाखाका अनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडान गर्न अनुमति दिइएको छ। प्राधिकरणको नयाँ तालिका अनुसार, युरोप, अमेरिकाका यात्रुले अब हरेक बिहीबार टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने छन्।

त्यस्तै, दिल्ली–काठमाडौं बुधबार र शुक्रबार उडानलाई निरन्तरता दिइएको छ । जुन यसअघि निषेधाज्ञामा पनि जारी नै थियो । त्यस्तै, दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जान सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान गर्नेछन्। सोमबार राति नेपालबाट दोहा जाने निगमको विमान मंगलबार मात्रै काठमाडौं फर्किने छ।

हाललाई यी ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिदिएको छ । त्यसपछि पुनः महामारीको अवस्थाको विश्लेषण गर्दै उडान थपघट हुने जनाएको छ।

सरकारले चीनका लागि पनि उडान खुला गरेको छ । तर, हाल कुनै पनि चिनियाँ वायुसेवाले उडान गर्ने इच्छा नदेखाएकाले अनुमति जारी गरिएको छैन । विदेशबाट नेपाल आउने यात्रुले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने छ। होटल क्वारेन्टाइन बस्न अटेर गर्नेलाई हालै जारी भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश’ मा उल्लेख भएको नियम अनुसार जरिवाना तथा सजाय हुने भनिएको छ ।

मन्त्रिपरिषद्‌को बिहीबारको निर्णयले वैशाख २३ देखि स्थगन गरिएको अन्तर्राष्ट्रिय उडान (भारतबाहेक तेस्रो मुलुकका लागि रोकिएको) खुलाउने निर्णय गरेको थियो । सामान्य अवस्थामा नेपालमा २७ वटा विदेशी र तीनवटा नेपाली गरी ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्थे ।


प्रकाशन मिति–२०७८ साल जेठ १८ गते मंगलवार ।