काठमाडौं। नेपालको आदिवासी नेवार जाति पनि विश्वको कुनै बर्ग तथा सम्प्रदाय भन्दा कम नभएको तथ्यलाई सांगीतिक रुपमा उजागर पार्ने उदेश्यले पहिलोपल्ट नेवाः आइडल हुने भएको छ। लहना मिडियाको आयोजनामा भएको पत्रकार सम्मेलनमा नेवाः आइडलका प्रणेता तथा कार्यकारी प्रमुख मनोज नेवाः खड्गीले बृहत रुपमा नेवाः आइडल गर्ने बताएका हुन्।

नेपालका सातवटै प्रदेशमा नेवाः आइडलको अडिसन हुने जानकारी पनि आयोजक खड्गीले दिएका छन्। खड्गीका अनुसार, सातवटै प्रदेशमा नेवाः आइडलको अडिसन हुने भएको छ। त्यसको लागि राजु स्यस्यः, देवेन्द्रमान जोशी, मनोज नेवाः खड्गी र अञ्जिता खड्गी सम्मिलित नेवाः आइडलको कार्य समिति पनि तयार भैसकेको र नेवाः आइडलका लागि बृहत तयारी पनि प्रारम्भ भैसकेको भनिएको छ।

लहना मिडिया प्रा.लि.का अध्यक्ष तथा प्रकाशक नृपेन्द्रलाल श्रेष्ठको सभापतित्व तथा व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठको व्यवस्थापनमा भएको कार्यक्रममा नेवाः आइडलले नेपालभाषाको सांगीतिक क्षेत्रलाई बृहत बनाउने विश्वास गरिएको छ।

अमेरिकन आइडल, इण्डियन आइडल तथा नेपाल आइडल जतिकै नेवाःआइडललाई पनि त्यतिकै तहल्का बनाउन आफूहरुको प्रयास तथा पहल हुने आयोजकको प्रतिबद्धता रहेको छ। नेवाः आइडल हुने विजेतालाई गाडी तथा नगद पुरस्कार र उपविजेतालाई मोटरसाइकल तथा नगद पुरस्कार प्रदान गरिने जानकारी पनि पत्रकार सम्मेलनमा भनिएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ १७ गते शुक्रवार ।