काठमाडौं। आज सातौं राष्ट्रिय योग दिवस । आज देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रमको आयोजना गरी सातौं राष्ट्रिय योग दिवस मनाउने कार्य भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘सर्वाङ्गीण विकासका लागि योग’ नारा जुराएको छ। नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ। तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो। यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा.हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो । प्राचीनकाल देखि हालसम्म योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुने कुरामा विश्वास लिदैआएको छ ।

 

प्रकाशन मिति–२०७८ साल माघ १ गते शनिवार ।