पुष ८ गतेदेखी पुष १४ गते सम्मको राशिफल

rashifal

मेष

वशिष्ट व्यक्तिहरू उपस्थित कार्यक्रममा संलग्न भइनेछ । मन पराउने साथीसँग विवाद भै मानसिक तनाव बढ्न सक्छ ।  अकस्मात् विदेश यात्राको साइत जुर्न सक्छ । भ्रमण फाइदाजनक नै रहनेछ । पहिलेदेखि गरिआइएको कार्यक्षेत्र परिवर्तन हुन सक्ने सम्भावना छ ।

वृष

आफ्नो पहिरनले अरूको मन आकर्षित गर्नेछ । थौरै लगानीले गतिलो आम्दानी हात पार्दा अभिभावकहरू दंग पर्नेछन् । रोकिएको व्यवसायमा साझेदारीसहित प्रयत्न गर्दा सफलता प्राप्त होला । साताको अन्त्यतिर ठूलो खर्चको चपेटामा परिनेछ । पूर्वको यात्राले विशेष फाइदा पुर्‍याउन सक्छ ।

मिथुन

राम्रा अवसर तथा शुभ समाचारले साता अनुकूल बनाउनेछ । अभिभावकको वचन परिवर्तनले मनमा चोट पुग्न सक्छ । महत्वपूर्ण निर्णय गर्दा संयम अपनाउनुहोला । राजनैतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने मंगलबारपछि पश्चिम दिशाको सभा–सम्मेलन तथा जनसम्पर्कले सार्थक परिणाम दिनेछ ।

कर्कट

रातो पहिरन प्रयोग गर्नाले प्रतिस्पर्धीहरू पछि पर्नेछन् । घरायसी व्यवहारमा संलग्न नहुनु नै उपयुक्त हुन्छ । कार्य सम्पादनका सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । वृद्ध तथा अपांगहरूको सेवाले प्रतिष्ठा दिलाउनेछ । व्यापारको सिलसिलामा विशिष्ट व्यक्तित्वसँगको भेटबाट थप प्रेरणा मिल्नेछ ।

सिंह

साताको प्रारम्भसँगै पूर्वतर्फको यात्राको साइत जुर्न सक्छ, जसमा परिणाममुखी कार्य सम्पन्न गर्न सकिनेछ । वनभोज एवं मनोरञ्जक कार्यक्रममा सहभागी हुँदा टाढिएका मित्रबीचको सम्बन्ध नजिकिनेछ । नीलो रंगको प्रयोगले नचिताएको परिणाम प्राप्त हुनेछ ।

कन्या

योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । प्राविधिक तथा वाचनशैली, तालिम आदिमा सहभागी हुने अवसर पाइएला । बुधबार र बिहीबार दक्षिणतर्फको सामाजिक कार्यक्रममा उपस्थित हुनुपर्नेछ, जसमा सम्मानित हुने सम्भावना पनि छ । यात्रा गर्दा समयको ख्याल गर्नुहोला ।

तुला

पश्चिमतर्फको आकस्मिक भ्रमणबाट मनोरञ्जनसहित आर्थिक लाभसमेत हुनेछ । घुमफिर गर्दा नयाँ अनुभव बटुल्ने अवसर पाइनेछ । मन पराउनेहरूसँग अनावश्यक वादविवाद नगर्नु नै आफ्नो हितमा छ । आफ्नो काममा ध्यान नपुर्‍याउँदा अरूले उछिन्न सक्छन्, सचेत रहनुहोला ।

वृश्चिक

आ–आफ्नो हठका कारण प्रेमी–प्रमिकाबीच उत्पन्न खटपट साताको अन्त्यमा स्वत: निर्मूल हुनेछ । आफ्नो क्षमताबाट जिम्मेवारी तथा बफादारीपूर्वक कार्य सम्पन्न गरी नयाँ कार्यभार सम्हाल्न पुगिनेछ । बाहिरी कुराले पारिवारिक वातावरण खलबल्याउन सक्छ, अर्काको कुरामा विश्वास नगर्नुहोला ।

धनु

नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । स्थान परिवर्तन गरी थालेको व्यवसायले मनग्य लाभ दिलाउनेछ । झिनामसिना समस्या साथीहरूको सहयोगबाट निराकरण गर्न सकिनेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

मकर

सामाजिक हक–हितका निम्ति समय खर्चनुपर्नेछ । विचार नगरी अरूलाई वचन दिनाले अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ । नयाँ व्यवसायमा हात हाल्दा अभिभावकको सुझाव आत्मसात् गर्नुहोला । ढिलै भए पनि सही बाटो पहिल्याइनेछ । साताको अन्त्यमा खानपानमा फेरबदल भै स्वास्थ्य प्रतिकूल हुन सक्छ ।

कुम्भ

आम्दानीको राम्रै स्रोत हात लागे पनि खर्च हुने क्रम रोकिनेछैन । पारिवारिक मतान्तरका बाबजुद तपाईंको विचार नै अनुमोदन हुनेछ । साथीहरूको सुझावबाट रोजगारीको मार्ग पहिल्याउन सहज हुनेछ । सूर्यको आराधनाले कार्य सम्पन्न गर्न सहज बनाउनेछ । राति यात्रा गर्दा सावधानी अपनाउनुहोला ।

मीन

पर्यटकीय क्षेत्रमा वनभोज कार्यक्रम तय गर्दै मनोरञ्जनमा सहभागी भइनेछ, जसले लामो समयदेखि भेटघाट तथा सम्पर्क नभएका साथीभाइहरूसँग भलाकुसारीको अवसर जुराउनेछ । मौसमी फेरबदलका कारण आइलाग्ने सानातिना शारीरिक पीडाले पिरोल्ने सम्भावना छ । आहार–विहारमा संयम अपनाउनु नै उचित हुन्छ ।

–ज्योतिष रामप्रसाद सिटौला
सौजन्य– साप्ताहिक
प्रकाशन मिति–२०७३ साल पुष ८ गते शुक्रबार ।