पोखरा। सार्वजनिक जग्गा हडपेर बनाइएको संरचनालाई हटाउने कार्य पोखरा महानगरपालिकावाट भएको छ। यसक्रममा महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिले सार्वजनिक जग्गा हडपेर बनाएका घर–टहरा भत्काउने कार्य गरेका छन्। पोखरा महानगरपालिकाले पोखरामा अवैधरुपमा बनाइएका तीनओटा घर भत्काएको हो।

महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाइएका पोखरा महानगरपालिका वडा नम्बर–४ की वडासदस्य विष्णुमाया परियारको अलावा पोखरा वडा नम्बर–५, धारापानीका भरत लिगल र वडा नम्बर–५ मै पर्ने बुलौंदीखोलाको मापदन्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो।

डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालै ढलान गरेको वडासदस्य परियारको एकतले घरको पिलरसहित घरको संरचना भत्काएको हो। डोजरले भत्काएको घर बस्न नमिल्ने भएको छ। वडा सदस्य परियारले डोजरको ‘बकेट’मासमेत बसेर घर भत्काउने कार्य रोक्नका लागि प्रयास गरेपनि उनको प्रयास भने सफल भएन।

अवैध रुपमा सार्वजनिक जग्गा हडपेर घर बनाउने वडा सदस्यको घरमा पनि डोजर लगाएर भत्काउने कार्यको पोखरामा महानगरपालिकाको प्रशंशा भएको छ।
प्रकाशन मिति–२०७५ साल पुस २५ गते बुधवार ।