काठमाडौं। सार्वजनिक शिक्षामा सबलिकरणको आवश्यकता र यसको महत्वका विषयमा सामुदायिक विद्यालयहरुमा महिनामा एकपल्ट भएपनि सचेतना अभियान चलाउनु पर्ने जोड दिएको छ।

राष्ट्रिय युवा परिषदसंगको सहकार्यमा संकल्प विकास केन्द्र नेपालले काठमाडौंको भगवतीवारीस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा आयोजना गरेको सार्वजनिक शिक्षामा सबलिकरण कार्यक्रममा उक्त कुराको जोड दिएको हो।

फागुन ७ गते बुधवार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयहरुमा सबलिकरण बेला–बखत नभएको कारण सार्वजनिक शिक्षा खस्किदै गएको ठहर कार्यक्रमका प्रमुख अतिथि सामाजिक अभियन्ता तथा शिक्षासेवी प्रकाश कुइँकेलले गरेका छन्।

प्रमुख अतिथि कुइँकेलले काठमाडौं महानगरमा सार्वजनिक शिक्षामा सबलिकरणको कुरामा जोड दिदै महानगरको यात्रामा सार्वजनिक शौचालय नहुंदा निक्कै समस्या परेको खुलासा गरेका छन्। प्रत्येक १ किलोमिटरको दूरीमा सार्वजनिक शौचालय भएमा किशोर तथा युवा विद्यार्थी सवैलाई सहज हुने तर्क कुइँकेलको रहेको छ।

कार्यक्रममा अर्का सामाजिक अभियन्ता खगेश रञ्जितकारले पनि सार्वजनिक शिक्षामा सबलिकरण अत्यन्त आवश्यकता भएको भन्दै विद्यार्थी तथा शिक्षकहरुलाई यसको सचेतना दिने कार्य गरेका थिए। शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक राधेश्याम प्रधानको सभापतित्वमा भएको कार्यक्रममा स्रोतव्यक्ति प्राध्यापक निर्मल बज्राचार्यले किशोर तथा युवा विद्यार्थीहरुमाझ युवा सञ्जाल तयार पार्न लगाएर सबलिकरणका विविध सचेतनात्मक कार्य गरेका थिए।

जसवाट युवा विद्यार्थीहरु अत्यन्त लाभान्वित बनेका थिए। उनीहरुले विद्यालयमा अनेक कार्यक्रम बेला–बेलामा आउने गरेतापनि यसप्रकारको सबलिकरण कार्यक्रम नआएको र यो कार्यक्रम आफूहरुलाई अत्यन्त लाभदायिक भएको प्रतिक्रिया व्यक्त गरे। कार्यक्रमको संचालन तथा संयोजन सञ्चारकर्मी श्याम स्मृतले गरेका थिए।


प्रकाशन मिति–२०७६ साल फागुन ९ गते शुक्रवार ।