मनिला। फिलिपिन्सका मेयर एन्टोनियो हालिलीमाथि गोली प्रहार भएको छ। मेयर हालिलीमाथि झन्डोलत्तन समारोहमै गोली प्रहार भएको हो। राजधानी मनिलाको दक्षिणी क्षेत्रस्थित तनउनको टाउन हलबाहिर राष्ट्रिय गान गाइसक्नेबित्तिकै एन्टोनियो हालिलीको छातीमा गोली प्रहार भएको बिबिसीले जनाएको छ।

मेयर हालिलीमाथि गोली प्रहार हुनेबित्तिकै समारोहमा उपस्थित सबै चिच्याएर भाग्दै गरेको फुटेज बाहिरिएको छ। लागू औषध कारोबारमा संलग्न संदिग्धलाई सडकमै परेड खेलाएका हालिली लागू औषधविरुद्धको अडानका लागि कट्टरपन्थी मानिन्छन् । यद्यपी लागू औषध तस्करलाई संरक्षण गरिरहेको भन्ने आरोप पनि हालिलीले खेपिरहेका छन् । उनले भने यस्तो आरोप अस्वीकार गर्दै आइरहेका छन्।

मेयर हालिलीमाथि गोली प्रहार गर्ने सुटर भने समारोहस्थलबाट भाग्न सफल भएको र हालसम्म कोही पनि संदिग्धको पहिचान नभएको फिलिपिनो अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सुटरले करिब एक सय ५० मिटर परबाट मेयर हालिलीमाथि गोली प्रहार गरेको स्थानीय प्रहरी प्रमुख रेनाटो मेराकाडोलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

‘गोली प्रहार गरेको स्थानदेखिको दूरी असाधारण छ। यो साधारण मानिसले गर्न सक्ने कार्य हैन। उनको कला तालिम प्राप्त स्नाइपरसँग तुलना गर्न मिल्छ,’ प्रहरी प्रमुख मेराकाडोलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। दुई वर्षअघि आफूले गरेको अपराध लेखिएको संकेतसहित लागू औषध संदिग्धलाई सडकमा हिँड्न बाध्य बनाएपछि हालिली अन्तर्राष्ट्रिय आकर्षणको पात्र बनेका थिए।

उनले त्यस्तो हिँडाइलाई लाजको हिँडाइ भनेका थिए। तर फिलिपिन्स सरकारले गत वर्ष गैरकानुनी लागू औषध व्यापारसँग हालिलीको सम्बन्ध रहेको बताएपछि स्थानीय प्रहरीमाथिको उनको शक्तिमा कमी आएको बताइन्छ। गोली प्रहार पछि मेयरको अवस्थाको बारेमा भने फिलिपिन्स सरकारले कुनै प्रकाश पारेको छैन्।

प्रकाशन मिति–२०७५ साल असार १९ गते मंगलवार ।