काठमाडौं। काठमाडौंमा बढ्दो सार्वजनिक सवारी साधनसंगै पेशेवर रुपमा पाकेटमारहरुको बृद्धि हुन थालेको छ। काठमाडौंका सार्वजनिक यातायातहरुमा हिजोआज पुरुष पाकेटमारको अलावा महिला पाकेटमारहरु पनि सागठनिक रुपमा लागेको पाइएको छ।

अझ धेरै भीडभाड हुने सार्वजनिक यातायातहरुमा पाकेटमारहरुको बिगबिगी नै हुन थालेको अनुसन्धानवाट थाहा भएको छ। पाकेटमारहरु स्वदेशी मात्र नभइकन हिजोआज काठमाडौंका सार्वजनिक सवारी साधनमा विदेशी पाकेटमारहरु पनि निक्कै देखि थालेको छ।

यस कुराको पुष्टि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई विहीवार पक्राउ गरेपछि भएको हो। वृत्तको टोलीले काठमाडौंको बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर यातायातको सार्वजनिक बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई विहीवार दिउँसो पक्राउ गरेको हो।

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कुँवरको रु ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा उनीहरुलाई पक्राउ गरिएको बताएका छन्। यो प्रतिनिधि घटना मात्र भएपनि सांगठनिक रुपमा टिपटप बनेर पाकेट मार्ने पुरुषको संख्या जस्तै महिलाहरुको पनि धेरै भएको पाइएको छ।

हेर्दा पनि अत्यन्त संभ्रान्त जस्ता देखिनेहरु पनि सार्वजनिक यातायातहरुमा भीडभाडको मौका छोपेर पाकेट मार्ने कार्यमा व्यापक संलग्नता रहेको पाइएकोले यात्रीहरु आफै चनाखो तथा सचेत हुनु आवश्यक छ।
प्रकाशन मिति–२०७५ साल माघ १७ गते विहीवार ।