काठमाडौं। नेपालमा सरकारले असार १ गतेवाट कोरोनाभाइरस (कोभिड–१९) को कारण जारी लकडाउनलाई खुकुलो बनाएपछि चहलपहलमा व्यापक बृद्धि भएको छ।

बजार, चोक, सडक तथा कार्यालय लगायतका स्थानमा सामाजिक दुरी कायम नगरी र कतिपयले मास्क समेत नलगाई पुरानै लयमा फर्कने होडबाजी नै देखिएको छ। जुन अत्यन्त खतरनाक देखिएको छ।

यस्तो खालको भिडभाडपूर्ण होडबाजीसँगै कोरोना संक्रमितको संख्या बढ्ने जोखिममा बृद्धि हुने जनस्वास्थ्य विज्ञहरुको राय रहेको छ। सरकारले लकडाउनको ढाँचा परिर्वतन गरेर जनजीवनलाई सामान्य बनाउन खोजेपनि कोरोना संक्रमणको पहिचान र नियन्त्रणमा राज्य र स्वयम् नागरिक पनि गम्भीर हुनुपर्ने देखिएको छ।

सुरक्षाको उपाय नअपनाइ बाहिर निस्कदा संक्रमित हुने खतरा बढिरहेको अवस्था छ। नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। यस्तो बेलामा खुकुलो पारिएको लकडाउनमा लापरर्वाही गरे संक्रमणको उच्च जोखिम हुने तथा खतरा बढ्ने आम डर रहेको छ।

नेपालमा कोरोना संक्रमण न्यूनिकरणका लागि लकडाउन हुनुभन्दा अगाडि गत चैत्र ११ गते अघिझैँ ढुक भएर हिँड्ने स्थिति अझै आएको देखिदैन। लकडाउन खुकुलो भयो भन्दैमा कोरोना संक्रमणलाई सामान्य ढङ्गले लिन नहुने विशेषज्ञहरुको सुझाव छ।

घरबाट कार्यक्षेत्र जाँदा र बजार जाँदा सामाजिक दुरी कायम गर्नुका साथै मास्कको प्रयोगलाई सबैले निरन्तरता दिनुपर्ने, अनिवार्य रुपमा साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी तथा विज्ञहरुले बताउँदै आएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार जहाँ धेरै मानिसको भीडभाड हुन्छ, त्यहाँ अनिर्वाय रुपमा मास्कको प्रयोग गर्नुपर्छ। मास्क लगाउँदा संक्रमण फैलने दर न्युन हुने उल्लेख छ। साबुन पानीले हात धुने, मास्कको प्रयोग र सामाजिक दुरीकायमलाई मन्त्रको रुपमा अनिर्वाय बनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ। घरभित्र हुँदा भन्दा बाहिर निस्कदा कडा रुपमा यो नियमलाई पालना गर्न अति आवश्यक देखिन्छ।


प्रकाशन मिति–२०७७ साल असार ६ गते शनिवार ।