काठमाडौं गाउं–गाउंमा सिंहदरवार भन्ने नाराले काठमाडौंमा नै सार्थकता पाउन सकेको छैन्। सिंहदरवारकै वडा अध्यक्षले सिंहदरवारको अनुभुति पाउन नसकेको खुलासा भएको छ। भन्नलाई सिंहदरवारको अधिकार गाउँलाई भन्ने मिठो नारा आएतापनि यथार्थमा कुनैपनि हालत नआएको र त्यो नारा सरासर भ्रमपूर्ण रहेको जिकिर सिंहदरवारका वडा अध्यक्ष कुश ढकालको रहेको छ।

काठमाडौं महानगरपालिका वडा नंबर २९ भित्र नै नेपालको सर्वोच्च प्रशासनिक निकाय सिंहदरवार पर्ने गरेको छ। यिनै वडा नंबर २९ का वडा अध्यक्ष कुश ढकालको अनुभवमा सिंहदरवार रहेको वडामा सिंहदरवार आउन सकेको छैन्। सिंहदरवारको अधिकार सिंहदरवार रहेको वडा नंबर २९ ले त पाउन सकेको छैन भने, दूरदराजका गाउं–गाउंमा पुग्यो भनेर भन्नु सरासर गलत भएको दावी वडा अध्यक्ष ढकालको रहेको छ।

सिंहदरवारको अधिकार सिंहदरवार रहेकै वडामा त पुग्न नसकेको अवस्थामा गाउं–गाउंमा पुग्यो भनेर भन्नु बेकार हो भन्दै वडा अध्यक्ष ढकाल यसलाई भ्रमको खेती हो भन्छन्। गाउं–गाउंमा सिंहदरवार भन्ने नारा सुन्नमा र पढ्नमा अत्यन्त राम्रो र मिठो भएतापनि नेपालको कानून तथा सिस्टमले नदिएको जिकिर वडा अध्यक्ष ढकालको रहेको छ।

काठमाडौं महानगरको वडा नंबर २९ मा नेपालकै सर्वोच्च प्रशासनिक निकाय रहेतापनि त्यहाँभित्रका निकाय तथा कार्यालयले वडासंग कुनै समन्वय गरेको पाइदैन। अझ सिंहदरवारभित्रका भवन निर्माण लगायतका विभिन्न प्राविधिक तथा प्रशासनिक कार्यको जानकारी लिने तथा दिने भएको छैन्।

सिंहदरवारका वडा अध्यक्ष हुनुको हैसियतले सिंहदरवारभित्र के कति भवन छन् र तिनको निर्माण तथा नव–निर्माण कार्य गर्दा नक्शा पास गरेको छ या छैन ? त्यो पनि जानकारी आफूसंग नभएको र त्यही सिंहदरवारभित्र कार्य गर्ने सरकारी कर्मचारीका छोरा–छोरीको नागरिकता तथा नाता प्रमाणित गर्नका लागि यदाकदा आउने गरेको रेकर्ड वाहेक अरु नभएको खुलासा पनि वडा अध्यक्ष कुश ढकालले भिजन संसारलाई बताएका छन्।

नारामा मज्जाले गाउं गाउंमा सिंहदरवार पुगेपनि यथार्थमा नेपालको सिस्टमले नै नदिएको तथा नानाभाँति सिस्टमका कारण वडा अध्यक्षले मात्र नभइकन मेयरले पनि गर्न नसकेको यथार्थता बताउन नचुक्ने वडा अध्यक्ष ढकालले काठमाडौं महानगरमा यो भएन र त्यो गरेन भनेर केवल मेयर विद्यासुन्दर शाक्यलाई मात्र गाली गरेर नहुने बताएका छन्।

वडा अध्यक्षलाई जस्तै नेपालको सिस्टमले मेयरलाई पनि काम गर्न नदिएको ढकालको भनाई रहेको छ। जसलेगर्दा मेयर विद्यासुन्दर शाक्यले चाहेर पनि रानीपोखरी पूर्नरनिर्माण गर्न काठमाडौं महानगरपालिकाले नपाएको ठहर पनि ढकालको रहेको छ। अर्कोतर्फ, १० करोड राजश्व संकलन गर्ने २९ नंबर वडाले त्यसको ५० प्रतिशत मात्र वडाको विकास खर्चको लागि बजेट माग्दा पनि पाउने नगरेको पनि गुनासो ढकालको रहेको छ। नपाउनुमा पनि अरु केही कारण नभइकन त्यही सरकारी सिस्टम वाधक रहेको खुलासा पनि वडा अध्यक्ष ढकालले गरेका छन्।

मेयर साबले त बजेट दिन नखोजेको होइन, तर त्यही सिस्टम वाधक भएको कारण चाहेर पनि वडामा पर्याप्त बजेट आउन नसकेको र आएको बजेट सडक बत्ती, ढल निकास, गल्ली तथा वाटोका सडक पिच गर्न र ब्लक छाप्नमा नै सकिने गरेको पनि वडा अध्यक्ष ढकालले बताएका छन्। करिब ९ हजार मतदाता भएको २९ नंबर वडामा विशेष समस्या भनेकै घर संधियार वीचकै रहेको छ।

एक अर्को घरको छत तथा बार्दली अनि कौशी निकाल्ने क्रममा विवाद उत्पन्न हुने, अंश मुददा, विवाह–संवन्ध विच्छेदका कुरा रहेको छ। ती समस्यालाई निर्वाचित जनप्रतिनिधिको पहलमा वडावाटै धेरैभन्दा धेरै समस्याको समाधान गरिदै आएको दावी पनि वडा अध्यक्ष ढकालको रहेको छ। जिल्ला अदालत देखि सर्वोच्च अदालतसम्म जान लागेका त्यस्ता समस्याको समाधान आफ्नै पहलमा वडावाटै गरेर वडावासीलाई सहज मात्र नगरिकन लाखौ लाखको वकिल तथा अदालती खर्च समेत जोगाइदिएको विभिन्न उदाहरण दिने कार्य पनि वडा अध्यक्ष ढकालवाट भएको छ।

अर्कोतर्फ, वडाको समस्या भूमाफिया पनि हो। भूमाफियाको कडा समस्या २९ नंबर वडामा पनि रहेको छ। जुन कर्पोरेट लेवलवाटै संचालित भएको र त्यसलाई ध्वंस्त पार्ने आफ्नो प्रमुख उदेश्य रहेको पनि वडा अध्यक्ष ढकालले भनेका छन्। सोही भूमाफियाको कारण महानगरपालिकाले वडा भवन निर्माणको लागि नक्शा समेत निर्माण भएर आइसकेको अवस्थामा पनि वडा भवन निर्माण गर्न ढिलाई भैरहेको यथार्थता पनि वडा अध्यक्ष ढकालले भन्न चुकेका छैनन्।

यसको अलावा वडाको अर्को समस्या भनेको आम वडाको जस्तै फोहरको सफाई नै हो। फोहर संकलन र तिनको व्यवस्थापन गर्ने कार्यमा वडा चुस्त दूरुस्त रुपमा लागेको र वडावासीको हरेक समस्यालाई आत्मसात गरेर वडा अध्यक्ष तथा जनप्रतिनिधिको हैसियतले तुरुन्ता तुरुन्त गर्न कुनै कसर वाँकी नराखेको पनि ढकालले भनेका छन्। जनप्रतिनिधि निर्वाचित भएर आउनुअघि र आएपछिको अवस्थामा धेरै नै सुधार भैसकेको दावी पनि ढकालको रहेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र १७ गते आइतवार ।