काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेको काठमाडौं स्थित गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ।
सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड–१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावीत भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र पुगेको वताए। त्यस्तै उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड–१९ को परिस्थिति सहज भए पछि सरकारसँग समन्वय गरेर जाने भनेका छन्।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए। सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, जुगल गाउँपालीका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता रहेको पनि गैरआवासीय नेपाली संघ सचिवालयले उल्लेख गरेको छ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्‍याउँदा १५६ भन्दा बढी मानिसहरु प्रभावीत भएका छन्।


प्रकाशन मिति–२०७७ साल भाद्र १८ गते विहीवार ।