काठमाडौं। बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने मौसमविदले अनुमान गरेयता पानी पर्ने असार महिनामा विगतमा जस्तै यो बर्ष पनि आज विहीवार सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ। कम्तिमा १६ जना मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान अनलाइन खवरले उल्लेख गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबरलाई पुष्टि गर्दै त्यहाँ टोली परिचालन गरिएको बताएका छन्। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको छ।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ । त्यसभन्दा करिब आधा किलोमिटर अगाडि वडा नंवर ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको मेयर शेर्पाले बताएका छन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बर्कुटे भन्ने स्थानमा एक घर परिवार वेपत्ता भएको छ । परिवारका चार जना सदस्य रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली बोलाइएको छ । डाडे खोलाको पुल पनि बाढीले बगाएको छ । १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार बाह्रबिसेमा राति साढे १२ बजे भोटेकोशी नदीको जलसतह ०.५ मिटर घटेर १२ः५० बजे एक्कासी १.१ मिटर बढेको थियो।

माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी केहीबेर थुनिएको र बाँध फुटेर आकस्मिक बहाव आएको हुन सक्ने अनुमान बाढी सूचना केन्द्रले गरेको छ। केन्द्रले भोटेकोशी–सुनकोशी नदी तटीय क्षेत्रमा विहान १० बजेसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ।’ सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

प्रदेश नंवर ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ। उनीहरुलाई हेलिकोप्टरमार्फत जिल्लातर्फ ल्याउने प्रयास भइरहेको लामाले बताए । घटनामा अझै १४ जना बेपत्ता छन्। अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ।

प्रकाशन मिति–२०७७ साल असार २५ गते विहीवार ।