काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित भोटसिपा बडहरेमा आज शुक्रवार भयानक बस दुर्घटना भएको छ। भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। क्षमताभन्दा तेब्बर यात्री सवार भएको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको छ।

उक्त बस दुर्घटनामा परेर ११ जनाको ज्यान गएको छ। ज्यान गुमाएका सबै ११ जनाकै सनाखत भएको छ। घटनास्थमै पाँचको मृत्यु भएको थियो भने पाँचको उपचारको क्रममा र एकको बीच बाटोमै निधन भएको थियो। दुर्घटनापछि ७२ घाइतेलाई उपचारका क्रममा धुलिखेल अस्पताल पु-याइएकोमा पाँच जनाको निधन भएको थियो।

काभ्रे प्रहरीका अनुसार धुलिखेल अस्पतालमा ज्यान गुमाउनेमा इन्द्रावती गाउँपालिका–९ की जुनादेवी लम्साल, मेलम्ची नगरपालिका–१३ का गणेश तामाङ, इन्द्रावती–१० की सुनिता पुर्कोटी, सोही ठाउँका सुवास अधिकारी र मीना मगर छन्।

दुर्घटनामा परी काभ्रे, बनेपा घर भएका बस चालक केदारनाथ महाजु, पाँचखाल नगरपालिका–६ काभ्रेकी संगीता पुर्कोटी, इन्द्रावती–९ का हिरा श्रेष्ठ, सोही ठाउँका बिनोद लम्साल र इन्द्रावती–१० का रितेश आचार्यको घटनास्थलमै मृत्यु भएको थियो। घाइते बाह्रविसे नगरपालिका–७ घर भइ ललितपुर बस्ने समिता श्रेष्ठकोे उपचारको लागि धुलिखेल लैजाने क्रममा बाटोमै ज्यान गएको थियो।

दुर्घटनाका घाइतेमध्ये ६७ को काभ्रेको धुलिखेल अस्पताल, ११ को बनेपास्थित शीरमेमोरियल अस्पताल र १३ को राजधानीस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये २० भन्दाबढीको अवस्था गम्भिर छ। घाइतेलाई स्थानीय सवारी साधन र हेलिकप्टरमा उपचारका लागि लगिएको थियो। घाइते हुनेमा धेरै बालबच्चा र महिला छन्।


प्रकाशन मिति–२०७६ साल असोज २४ गते शुक्रवार ।