काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने जनाए । उनले पछिल्लो दुई बर्षमा दुई हजार वर्गमाइल क्षेत्रलाई कब्जामुक्त गरिएको भन्दै युद्धको मैदानमा विजयी भएको जिकिर गरे।

राष्ट्रपति ट्रम्ले आफुहरुले जितपछि जित हासिल गरिरहेको स्पष्ट पारे। उनले दुई महिना पहिले सिरियामा जिहादीहरुलाई हराएको भन्दै त्यहाँबाट अमेरिकी सेनालाई फर्काउने घोषणा यसअघि नै गरिसकेका छन्। बासिंटनमा अमेरिकाले अगुवाइ गरेको गठबन्धनको बैठकमा राष्ट्रपति ट्रम्पले सिरियामा अब आइएसको केवल अवशेषमात्र बाँकी रहेको दावी गरे।

यसअघि बैठकमा बोल्दै विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाले सिरियाबाट आफ्ना सेना फिर्ता बोलाए पनि आइएसविरुद्धको लडाईँ जारी राख्ने बताए । उनले आइएसको कब्जाबाट फुत्काइएका इलाकाको पुनर्निर्माणका लागि सहयोग रकम जुटाउन पनि आह्वान गरे। आइएसविरुद्ध करिब ८० देशले मोर्चाबन्दी गरेका छन् ।

यो गठबन्धन सन् २०१४ देखि आइएसविरुद्ध लडिरहेको छ। राष्ट्रपति ट्रम्पले गठबन्धन सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी कयौं बर्षसम्म मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल माघ २४ गते विहीवार ।