काठमाडौंं। नेपाली चलचित्रको इतिहास यो बर्षवाट ५५ बर्ष पुगेको छ। नेपाली चलचित्रको यो गौरबमय इतिहास वनाउनमा नेपालभाषा चलचित्रले पनि निक्कै योगदान दिएको छ। जुन अविस्मरणीय नै भएको छ।

विसं.२०४२ सालमा निर्माण भएको पहिलो नेपालभाषाको चलचित्र सिलु सेलुलाइड प्रविधिमा बनेको हो। यस चलचित्रको प्रदर्शन विसं.२०४४ सालतिर भएको इतिहास रहेको छ। नेपालभाषा अर्थात नेवार भाषामा निर्माण भएको चलचित्र भएतापनि यो चलचित्रलाई गैरनेवारहरुले पनि आफ्नै चलचित्रको रुपमा हेरेका थिए।

काठमाडौंको जमलस्थित विश्वज्योति सिनेमा हलमा हप्तौ हप्ता सुपरहिट बनेर चलेको चलचित्र सिलु नै हो। सिलु हेरेर कति गैरनेवारहरुले पनि आफ्ना छोरीहरुको नाम सिलु राखेको पाइएको छ।

नेपालभाषामा सिलु भनेको पवित्र धार्मिक स्थल गोसाइकुण्डको नाम हो। यिनै गोसाइकुण्डमा श्रीमान–श्रीमती एकसाथ गएमा विछोड हुने विश्वासको कथालाई उनेर निर्माण गरेको सांस्कृतिक चलचित्र सिलु हो।

यसअर्थमा सिलु सवैले हेरेको चलचित्र नभइकन त्यो बेला नेपालमा जातिय रुपमा कसैले पनि हेरेका थिएन। भाषा नै नवुझेपनि भाषाको सम्मान गर्नेहरुको संख्या निक्कै भएर पनि नेपालभाषाको चलचित्र सिलु हेरेको हो।

अझ त्यो बेला काठमाडौं उपत्यकामा नेपालभाषा प्राय गैरनेवारहरुले पनि वोल्ने तथा बुझ्ने गर्दथ्यो। कालान्तरमा भाषिक आन्दोलन विभिन्न समयमा भएतापनि गैरनेवारले मात्र नभइकन कतिपय नेवारहरुले पनि नेवारभाषा अर्थात नेपालभाषा वोल्न छाडेपछि नेपालभाषामा संकट आएको हो।

2nd Nepal Bhasha Film RAJAMATI

सिलु निर्माणको २० बर्षपछि निर्माण भएको चलचित्र राजमतिलाई हलमा चलाउन सिलुलाई जति सहजता थियो। राजमतिलाई त्यति भएन। सिलुले पाएको अपार सफलता राजमतिको अपार कलात्मकता हुंदा पनि सोचेजस्तो पाइएन।

नपाउनुको कारण राजमतिको समयसम्म आइपुग्दा जातिय विखण्डन तथा विभेदको शिकार चलचित्रमा समेत पर्यो। गैरनेवारहरुले हेरिदिएर सुपरहिट बनेको चलचित्र सिलुलाई जस्तो अपार माया राजमतिले त्यति धेरै नपाएतापनि यो फिल्म नेपाली चलचित्रको कालखण्डमा अविस्मरणीय चलचित्र नै बन्यो।

राजमतिको कथा, गीत–संगीत, अभिनय अनि कलात्मकता हालसम्म ऐतिहासिक नै बनेको छ। नेपालभाषाको चलचित्रको इतिहासमा यी दुई सेलुलाइड प्रविधिमा निर्माण भएको चलचित्र सिलु र राजमति टर्निङ प्वाइन्ट बनेतापनि त्यसपछि बनेका नेपालभाषाका चलचित्र मात्र नभइकन अन्य भाषाभाषीका चलचित्र हलमा प्र्रदर्शन हुन नै सकेन।

छिटपुट रुपमा केही चलचित्र हलमा प्रदर्शन भएतापनि तिनले खासै दर्शक नपाएपछि कतिपय त्यस्ता चलचित्रले नेपाली भाषामा डविङ गरेर हलमा रिलिज गरेको पाइएको छ। यसो हुनुको पछाडि मातृभाषाप्रति दर्शकको क्रेज घट्नु तथा जातिय विभेद बृद्धि हुनु र एक जातिले अर्को जातिको सम्मान गर्ने परम्परामा विचलन आउनु लगायत राजनीतिक अनेक कारणले भाषिक फिल्महरु मारमा पर्दै गएको देखिन्छ।

यसक्रममा नेपालभाषाका चलचित्र पनि अछुतो हुन सकेन। सिलु र राजमतिको इतिहास पश्चात इतिहास वनाउने क्रममा चाण्डालिका, बाँला मयजु, तुयुमति लगायत सयौं चलचित्र नेपालभाषामा निर्माण भएका छन्। तर, ती चलचित्रले नेपालभाषाको पहिलो चलचित्र सिलुको गौरबमय इतिहास रच्न सफल भएन।


प्रकाशन मिति–२०७७ साल असार १० गते बुधवार ।