sujata-koirala-2

काठमाडौ। नेपालकी चर्चित गायिका तारा थापालाई ब्रेस्ट क्यान्सर हुंदा एक पैसा सहयोग नगर्ने सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको ब्रेस्ट क्यान्सर हुंदा ५० लाख दिने निर्णय गरेको छ। जुन निर्णय सर्वत्र आलोचना भैरहेको छ। नेतृ कोइरालालाई ५० लाख सहयोग दिने निर्णयको नेपालको व्यवस्थापिका संसदमा पनि विरोध भएको छ। सोमवार बसेको संसदको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका दलका सांसदले सरकारको निर्णयको कडा शब्दमा विरोध गरेका हुन्।

sujata-koirala-1

एमाले सांसदहरु प्रकाश ज्वाला, यज्ञराज सुनुवारलगायतले निर्णयप्रति आपत्ति जनाए। उनीहरुले विगतमा पूर्व राष्ट्रपति डा.रामवरण यादवलाई उपचारका नाममा ठूलो धनराशी दिएर सरकारले राज्यकोषको दुरुपयोग गरेको भन्दै अहिले कोइरालालाई उपचार खर्चको नाममा ५० लाख दिइनु भत्र्सनायोग्य काम भएको बताए। गृहमन्त्रीको दबाबमा सरकारले एकाएक यस्तो निर्णय गर्नु र सो निर्णय सरकारका प्रवक्ताले लुकाएको घटनाप्रति एमाले सांसद ज्वालाले विरोध जनाए।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद दिलनाथ गिरीले विगतमा पूर्व प्रधानमन्त्री तुलसी गिरीलाई उपचारका लागि सहयोग रकम माग्दा राज्यले वेवास्ता गरेको तर अहिले आएर सत्ताका नजिक रहेका व्यक्तिलाई राज्यको ढुकुटीबाट रकम बाँड्ने घटनाले राज्यको असमान व्यवहार आम जनता माझ छर्लङ्ग भएको बताए। विगतमा स्वास्थ्यमन्त्रीले सस्तो लोकप्रियताका लागि ठूला ठूला कुरा गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्नु लाजमर्दो विषय भएको उनको भनाई छ।

राष्ट्रिय जनमोर्चाकी सांसद मिना पुनले आम जनताले आधारभूत औषधि उपचार नपाएर मृत्युवरण गर्नुपरेका बेला सरकारले सुजाता कोइरालालाई उपचार खर्च दिएर जनताको अपमान गरेको बताए। नेमकिपाकी अनुराधा थापा मागरले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहालले सुजातालाई दिने भनिएको ५० लाख रुपैयाँ उपचार खर्च फिर्ता लिने प्रतिबद्धता सदन समक्ष जाहेर गर्नुपर्ने बताइन्।

प्रकाशन मिति–२०७३ साल कात्तिक २९ गते सोमवार ।