काठमाडौ। असी बर्ष देखि एक सय बर्षसम्मका बृद्धा आमाहरुको कलेटी परेको त्यो अनुहारमा खुशी छाउनु सामान्य कुरा होइन। ती आमाहरु कोही पनि रहरले बृद्धाश्रममा आएर बसेका पनि त होइनन्। आफ्नाहरुवाट अनि आफन्तवाटै ठगिएका र लुटिएका त कति आफ्नै सन्तानले रोडमा फालिएका ती बृद्धा आमाहरुलाई न्यानो माया दिएर बसेकी हजुरआमाहरुकी पनि आमा दिलशोभा आमाको आमाघरमा रहेका ३० जना बृद्धाआमाहरुको केश श्रृंगार गर्ने कार्य भएको छ।

सामाजिक अभियन्ता सुनिता कायस्थको नेतृत्वमा गएको गृहिणी महिला सामाजिक सेवा समूहले आमाघरमा रहेका आमाहरुको केश श्रृंगार गरिदिदा सवै आमाहरुको अनुहारमा बर्षौदेखि लुकिरहेको खुशी झल्किएको थियो। बुधवार आयोजित कार्यक्रममा गृहिणी महिला सामाजिक सेवा समूहमा आवद्ध २० जना व्युटीसियनहरुले आमाघरका आमाहरुको कपाल काटिदिने तथा नङ काटिदिने लगायतका सेवा प्रदान गरेका थिए।

त्यसको अलावा उनीहरुलाई चिया तथा खाजाको पनि व्यवस्था गरेका थिए। केही आमाहरुलाई उपहार स्वरुप गृहिणी महिला सामाजिक सेवा समूहका दिदीबहिनीहरुले सारी तथा चोलो पनि प्रदान गर्दा उनीहरुले दशैं आएको जस्तो नै महशुश गरेका थिए। यो बर्षवाट १ सय बर्ष पुगेकी राजा महेन्द्रको सवारी चलाउने नेपालको प्रथम सवारी चालक रामदेवी श्रेष्ठ देखि दुवै आँखा नदेख्ने धनलक्ष्मी महर्जन तथा चौतारी आमा लगायत कान्छीमाया पराजुली, गोमयजु आमासम्म सवै दंगै परेका थिए।

बर्षौदेखि कपाल काट्न नपाएका आमाहरुले त्यसरी पुषको पारिलो अनि मधुर घाममा बसेर कपाल काट्न पाउंदा अत्यन्त रमाएका थिए। अनि कपाल काटेपछि आफ्नो अनुहार ऐनामा हेरेपछि आफैलाई नयाँ रुपमा पाउंदा मक्खै परेका थिए।

आयोजक सुनिता कायस्थ तथा गृहिणी महिला सामाजिक सेवा समूहलाई आमाघरकी आमा दिलशोभा श्रेष्ठले आमाघरमा उज्यालो ल्याइदिएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्। आयोजक सुनिता कायस्थले आफूहरुको सामाजिक सेवा अन्तर्गतको यो कार्य रहेको र यसप्रकारका अन्य कार्य पनि गर्दैजाने प्रतिवद्धता व्यक्त गरेकी छन्।


प्रकाशन मिति–२०७४ साल पुष ५ गते बुधवार ।