काठमाडौं। पचासको दशकमा सुपरहिट गायिका नै मानिएकी जुनु श्रेष्ठले नयाँ जुनी लिएकी छन्। लामो समयको अन्तराल पश्चात गायिका श्रेष्ठ नेपाली समसामयिक गीत गायनमा नयाँ एल्बम जुनु लिएर नयाँ जुनी लिएकी हुन।

चर्चाको शिखरमा उक्लेको त्यो पचासको दशकवाट सवैको वाहवाही पाउंदै गर्दा पनि हराएकी नेपाल र नेपालीले गर्ब गर्न लायककी गायिका जुनु श्रेष्ठको जुनु एल्बमका ६ गीतका मनमोहक भिडियोहरु एकसाथ सार्वजनिक भएको छ। काठमाडौंको दरबार मार्ग स्थित राइजिङ मलमा आयोजित भव्य कार्यक्रम वीच गायिका श्रेष्ठको जुनु एल्बमका ६ गीतका भिडियो सार्वजनिक भएको हो।

अग्रज अभिनेता एवम् हांस्य सम्राट मदनकृष्ण श्रेष्ठ र बरिष्ठ गायक दीप श्रेष्ठले बिहीबार गायिका श्रेष्ठका गीतहरूको म्युजिक भिडियोहरुको एकसाथ सार्वजनिक गरेका हुन। प्रमुख अतिथिद्वयका साथमा विशेष अतिथि बरिष्ठ गायिका संगीता राना प्रधानको उपस्थितिमा सम्पन्न कार्यक्रममा गायिका श्रेष्ठका ६ वटा गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। गायिका श्रेष्ठको जुनु एल्बममा नेपाल भाषाका चारवटा र नेपाली भाषाका दुईवटा गरी ६ वटा गीतहरू समेटिएका छन्।

एल्बममा जी शाह, जनकवि दुर्गालाल श्रेष्ठ, बद्री बेदना, सरला श्रेष्ठलगायतका रचनाकारका गीतहरू छन् भने गोविन्द ह्यूमत, दीपेन्द्रमान सिंह र अनिल शाहीलगायतका संगीतकारले ती गीतहरूमा संगीत भरेका छन्। भिडियोको क्यामरा र सम्पादन कार्य सोहन मानन्धरले गरेका छन्। सह निर्देशन नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गीले गरेकी हुन। निर्देशन संगीतकार अनिल शाही तथा ब्लु बेरी स्टुडियो टीमको रहेको छ।

कार्यक्रममा नेपाल भाषा म्युजिक भिडियोका प्रथम निर्देशक एवं सिने पत्रकार विजयरत्न तुलाधर र साहित्य, कला एवं चलचित्र विश्लेषक प्रकाश सायमीले सार्वजनिक गरिएका गीतहरूको समिक्षा गरेका थिए।

प्रकाशन मिति–२०७९ साल असोज १५ गते शनिवार ।