मध्यपुर थिमि । नेपालमा बुद्धकालिन चलचित्र कम बनेको छ। अझ नोटिस गर्न लायकको बुद्धकालिन नेपाली चलचित्र चण्डालिका वाहेक अरु बनेको देखिदैन। बुद्ध संवन्धी नेपालमा नै आएर विदेशीले लिट्टिल बुद्ध बनाएको पनि दशकौं दशक भैसकेको छ।

तर, बुद्ध जन्मेको देश नेपालमा बुद्धकालिन नेपाली चलचित्र नबनिरहेको वर्तमान अवस्थामा मध्यपुर थिमि नगरपालिका वडा नंबर ३ गठ्ठाघर निवासी उत्साही चलचित्रकर्मी सुरेन्द्र श्रेष्ठले बुद्धकालिन चलचित्र निर्माण गर्ने उदघोष गरेका छन्। मध्यपुर थिमि नयाँ वाटो रोडमा आयोजित कार्यक्रममा शुक्रवार चलचित्रकर्मी श्रेष्ठले बुद्धकालिन चलचित्र अंगुलिमालको निर्माण गर्ने घोषणा गर्दा उपस्थित सवैले यो साहसको प्रतिक हो भनेर ताली पड्काएका थिए ।

ऐतिहासिक तथा धार्मिक चलचित्रलाई चलचित्रको पर्दामा उतार्नु भनेको चानचुनको कुरा होइन, त्यसमाथि इतिहासलाई नमारिकन चलचित्रको पर्दामा उतार्नु साहसको कुरा हो। अझ यो कोभिड–१९ को महामारीको बेला कुनैपनि चलचित्र निर्माण नभैरहेको वर्तमान अवस्थामा मध्यपुर थिमिका एक तन्नेरी सुरेन्द्र श्रेष्ठले नेपाली कथानक चलचित्र अंगुलिमाल निर्माण गर्ने उदघोष नै ठूलो कुरा भएको नेपाली तथा नेपालभाषा चलचित्रका ख्यातिप्राप्त हांस्य अभिनेता हृद्यप्रसाद मिश्रको ठहर रहेको छ।

चलचित्रकर्मीहरुको बांक्लो उपस्थितिमा चलचित्र निर्माण घोषणा कार्यक्रममा चलचित्रकर्मीहरुलाई पनि सम्मान गरिएको थियो। चलचित्र अंगुलिमालको निर्देशनको जिम्मेवारी निर्देशक अभय डंगोललाई दिइएको छ। चाँडै नै निर्माण हुने चलचित्र अंगुलिमालका कलाकारहरुको केही दिनमा नै छनौट हुने भएको छ।

यस चलचित्रको कथा तथा पटकथालाई ऐतिहासिकमा नजिक ल्याउने गरेर तयार पार्ने कार्य भएको कारण इतिहास तोडमोड नहुने जिकिर पनि निर्माता सुरेन्द्र श्रेष्ठको रहेको छ।
प्रकाशन मिति–२०७८ साल साउन १५ गते शुक्रवार ।