काठमाडौ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेविसंघले निकालेको जुलुसमा प्रहरीले सुर्खेतमा हस्तक्षेप गरेको छ। त्यस क्रममा नेविसंघ केन्द्रीय सदस्य अनिल शाही र नेता गौतम बिसी घाइते भएका छन् । प्रहरीले अर्का केन्द्रीय सदस्य हरि शर्मालाई गिरफ्तार गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गर्ने क्रममा विहीवार साँझ करिब ५ बजे वीरेन्द्रचोकमा भेला भएका विद्यार्थीमाथि प्रहरीले सुरुमै अन्धाधुन्ध आक्रमण गरेको थियो। त्यसपछि प्रदर्शन गर्दै हटियालाइनस्थित पार्टी कार्यालय पुगेका विद्यार्थीलाई प्रहरी निरीक्षक शंकर श्रेष्ठ नेतृत्वको टोलीले भवनभित्रै पसेर पक्राउ गर्न खोजेको थियो।

पार्टी सभापति कमलराज रेग्मी, नेता विष्णुबहादुर खड्कासहितको टोली प्रतिकारमा उत्रेपछि प्रहरी पार्टी कार्यालय परिसरबाट बाहिरिएको थियो। नेविसंघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका इकाई अध्यक्ष यज्ञबहादुर राम्जालीले शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएको विद्यार्थीमाथि सरकारले तानाशाही शैलीमा दमन गर्न खोजेको भनेका छन्।
प्रकाशन मिति–२०७५ साल जेठ ३१ गते विहीवार ।