काठमाडौं। नेपालको संचारकर्मबाट चलचित्र क्षेत्रमा आएका सुशील देवकोटा यही फाल्गुण १९ गते रिलिज हुने चलचित्र छक्का पञ्जा ४ मा प्रमुख भूमिकामा मार्फत चलचित्र क्षेत्रमा पुनरआगमन गर्दैछन् ।

छापा माध्यम, रेडियो हुँदै कुनै बेला नेपालको पहिलो स्याटलाइट च्यानल “च्यानल नेपाल”बाट प्रसारण हुने “सिनेमा संसार” कार्यक्रमको निर्माता तथा निर्देशक र संचालकको रुपमा आफ्नो परिचय बनाएका थिए । सिनेमा संसार त्यतिबेला निक्कै रुचाइएको कार्यक्रम थियो र यो कार्यक्रमको प्रस्तोताको रुपमा दर्शक माझ लोकप्रिय भएका सुशील देवकोटा पछि चलचित्रकर्मीको रुपमा देखापर्न थाले ।

सावधान, मानिस, अल्पविराम लगायत अन्य धेरै चलचित्रमा काम गरिसकेका सुशील देवकोटाले चलचित्र लेखकको रुपमा पनि आफ्नो परिचय बनाएका छन् । उनले चर्चित नृत्य निर्देशक राजु शाहले चलचित्र निर्देशकको रुपमा डेब्यू गरेको चलचित्र “सपनाको नौलो संसार”को कथा पटकथा र संवाद पनि लेखेका थिए ।

केही व्यवहारिक र सामाजिक कठिनाइका कारण लगभग १० वर्ष भारतको गोवामा बसेका  देवकोटा हाल नेपाल फर्किएका छन् । चलचित्र क्षेत्रमा सक्रिय भएका छन् । यस क्रममा हालसम्म उनले तीनवटा भोजपुरी फिल्ममा प्रमुख भुमिका निर्वाह गरिसकेका छन् भने दिपक –दीपाको चलचित्र छक्का पञ्जा ४ मा पनि प्रमुख भूमिकामा देखिएका छन् ।

लेखनको क्षेत्रमा पनि फेरि सक्रियता देखाएका देवकोटाले निकट भविष्यमा नेपाल टेलिभिजनबाट प्रसारण हुने सिरियल “गौरी”को कथा पटकथा र संवाद र सिरियल “मेरो कथा”को कथार पटकथार संवाद पनि लेखिरहेका छन् ।

देवकोटाले अब जिन्दगीको अन्तिम साससम्म नेपाली चलचित्र क्षेत्रमा नै समर्पित रहने आफ्नो इच्छा र चाहना भएको बताउदै उनी चाँडै अर्को एक भोजपुरी फिल्म र सिरियलमा कलाकारको रुपमा देखिन लागेको जानकारी गराए भने ठूलो पर्दाको दुई चलचित्रको लेखन कार्य पनि चाँडै शुरु गर्न लागेको पनि जानकारी दिएका छन् ।
प्रकाशन मिति–२०७९ साल फागुन १३ गते शनिवार ।