काठमाडौं। सुशीला मानन्धरको अर्को नाम सुशी सायमी पनि हो। कला तथा साहित्यमा अत्यन्त रुचि राख्ने सुशीला मानन्धर पेशाले थेरापिष्ट हुन्। एक्युप्रेशरको माध्यमवाट थेरापी गरेर धेरै विरामीका रोग निदान गर्नमा क्रियाशील थेरापिष्ट सुशीला थेरापी गर्दा पनि मज्जाले गीत गुनगुनाउने गर्छिन्।

गीत पनि थेरापीको अर्को माध्यम भएको कारण कोकिल कण्ठीवाट गीत गाएको सुन्दै थेरापी गर्ने धेरै विरामीको आधा रोग त गीतवाटै निको हुने गरेको छ। आफू लडेर खुट्टा भाँचिएको र त्यसको उपचारको क्रममा थेरापी गराएर निको भएपछि थेरापीको महत्व बुझेर थेरापी सिकेका उनी हाल “होम सर्भिस थेरापी“को माध्यमवाट धेरैलाई घर–घरमा सेवा दिने कार्यमा तल्लिन रहेकी छन्।

यिनै सवैको प्रिय गायिका तथा थेरापिष्ट सुशीला मानन्धर यानी सुशी सायमी रक्तदान जस्तो महादानमय सामाजिक कार्यमा पनि अत्यन्त व्यस्त बनेकी छन्। कोरोनाको महामारीको बेला कोरोनाका विरामीहरुका लागि अत्यन्त आवश्यक प्लाज्म उपलव्ध गराउने कार्यमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

धेरैलाई प्लाज्मा उपलव्ध गराएर जीवन रक्षा गर्ने र गराउने कार्यमा सायमीको सहयोग रहेको कसैले पनि विर्सेका छैनन्। त्यस्तै हालपनि कसैलाई कोही विरामीका कारण रगत आवश्यक भएमा तत्काल रगत उपलव्ध गराउने कार्यमा पनि उनी सक्रिय रहेकी छन्।

उनको यस कार्यमा बैंकर तथा सामाजिक अभियन्ता राजीब श्रेष्ठको पनि अत्यन्त सहयोग रहेको पनि दिल खोलेर उनले तारिफ गरेकी छन्।

 

प्रकाशन मिति–२०७९ साल साउन ७ गते शनिवार ।