काठमाडौं। आज मकर संक्रान्ति अर्थात माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइने गरिन्छ। माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ।

थारु समुदायले आज माघी पर्व मनाउंने कार्य भैरहेको छ। ज्योतिष शास्त्रनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ भनिएको हो।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

आज मकर संक्रान्तिका दिन खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा भक्तजनहरुको विशेष मेला लागेको छ।


प्रकाशन मिति–२०७६ साल माघ १ गते बुधवार ।