काठमाडौं। सोलुखुम्बुको लुक्लामा समिट एअरको विमान दूर्घटना भएको छ। लुक्लाबाट रामेछापमा जान लागेको समिट एयरको जहाज दुर्घटना भएको हो। दुर्घटनामा कोपाइलट र एक प्रहरीको मृत्यु भएको छ । पाइलटसहित तीनजना गम्भीर घाइते बनेका छन्।

तस्बीर सौजन्य –एम डी श्रेष्ठ

समाचार अनुसार, आज बिहान ९ बजेर २० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो। समिट एयरको विमानले पार्किङमा राखिएको मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्किएको थियो। दुर्घटनापछि विमानमा आगो लागेको थियो।
दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ।

दुर्घटनामा विमानस्थलमा कार्यरत सुरक्षाकर्मी र समिट एयरकै कोपाइलटको मृत्यु भएको छ। मृत्यु हुनेमा को-पाइलट सुनील ढुङ्गाना र प्रहरीका असई राम बहादुर खड्का रहेको पुष्टि भएको छ। दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ र एक प्रहरी गभ्मीर घाइते छन्। उक्त जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते भएकी छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख १ गते आइतवार ।