काठमाडौं। विश्वलाई आक्रान्त पारिरहेको कोरोनाभाइरस (कोभिड–१९) को महामारी नेपालमा पनि प्रत्येक दिनजस्तो व्यापक रुपमा नै बृद्धि भैरहेको छ। कोरोना संक्रमणले गर्दा सवैलाई त्राहीमाम पारिरहेको छ। गत चैत महिनावाट नेपालमा फैलिएको कोरोना संक्रमण तेश्रो फेजमा पुगिसकेको छ। समुदायमा समेत फैलिसकेको वर्तमान अवस्थामा अझ भयावह भैरहेको छ।

कोरोनाभाइरसको संक्रमण अत्याधिक मात्रामा बढ्दै एक लाखभन्दा माथि पुगिसकेको छ। त्यसमा पनि काठमाडौँ उपत्यकामा त झन् डरलाग्दो तरिकाले बढिरहेको छ। काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बनिरहेको छ। जसको कारण अस्पतालहरुमा बेडको अभाब हुन थालेको कुरा बाहिर आएको छ। यसको साथ साथै नेपालीहरुको महान चाड दशैैँ, तिहार र छठ पर्व पनि आँगनीमा छ।

नेपालीहरुको महान पर्व दशैंको यो माहोलमा कोरोना महामारीले सवैलाई त्रसित नै वनाएको छ। कोरोना कहरमा दशैंको रौनकता खल्लो पो हुने हो कि भन्ने मनभरिको डरै डर रहेको छ। यसै सन्दर्भमा बरिष्ठ सौन्दर्यविद सुशीला थापाले कोरोना कहरमा दशैं, तिहार, छठ पर्व मनाउंदा निम्न ख्याल राखेर मनाउन अनुरोध गरेकी छन्।
प्रस्तुत छ–सौन्दर्यविज्ञ तथा ओएसिस व्युटी–स्पा सेन्टरकी प्रमुख निर्देशक सुशीला थापाको वर्तमान कोरोना कहरको महामारीको सन्दर्भमा दशैं, तिहार तथा छठ पर्वको समसामयिक टिप्सः–

–अहिले जो जहाँ छ त्यही बसेर नै दशैं, तिहार, छठपर्व जस्ता हाम्रा महान चाडपर्व मनाउने । फोन, भिडिओ कलबाट वडादशैंको आशिर्वाद लिने । किनकि दशैँ मनाउन जाँदा प्रयोग गर्ने विभिन्न सवारी साधन (नाइट वा दिवा बस)मा हुने भीडभाडले गर्दा कोरोनाको संक्रमण बढ्ने अत्यन्त ठूलो सम्भावना हुन्छ । दशैंमा घरजाने, टिकाटालो गर्ने जस्ता नाममा आतेजाते गर्दा व्यक्तिगत दूरी कायम नहुने, बसपार्क, असुरक्षित खाजा र खाना पसलमा वा साना–साना खुद्रा पसलमा सामान किनमेल गर्दा हुने भीडभाडको कारणले कोरोना सर्ने सम्भावना हुन्छ। घरमा भएका जेष्ठ नागरिकहरुलाई संक्रमण हुने खतरा अत्याधिक हुन्छ। यसरी आफू लगायत घरमा भएका अन्य सदस्यहरुलाई खतरामा पारेर दशैँ मनाउनुको कुनै अर्थ हुँदैन। ज्यान बचेमा अर्को बर्ष फेरि दशैं मनाउन सकिन्छ।

–अहिलेको दशैँमा पूजाआजा गर्न मन्दिर नजाऔँ र खानपिन र दशैँ पनि घरका परिवारसँग मात्र बसेर मनाऔं। अहिलेको दशैँमा फलफूल जस्तै सुन्तला, बदाम, केरा, स्याउ, अनार लिएर आफन्त वा मान्यजनलाई भेट गर्न नजाऔँ । यदि जानै परे पनि खाली हात जाआँै टाढैबाट आशिर्वाद लिऔँ।

–कोरोना संक्रमणको समयमा दशैँका लागि सपिङ्ग मल अथवा भिड भाड हुने ठाउँमा गएर सपिङ्ग नगरौँ । डिपार्टमेन्टल स्टोर तथा सपिङ मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट सामान किनेर बाहिरिने काम गरौँ । लामो समय बिताउनु हुँदैन ।

–कोरोना महामारी कारण दैनिक लगभग दोहोरो अंकमा संक्रमितको मृत्यु भैरहेको छ भने, सयौं बिरामी आईसीयू र भेन्टिलेटरमा जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेका छन् । त्यसैले अतिआवश्यक नपरेसम्म घरबाट बाहिर नजाऔँ । घरबाहिर निस्कँदा अनिवार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म दुई मिटरको दुरी कायम गर्ने । भीडभाडमा नजाने, जानै परेमा भीडभाड नगर्ने ।

–अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन । आईसीयू प्याक भएका छन् । भेन्टिलेटरको पालो कुर्दा बिरामीको ज्यान गएको छ । सिकिस्त बिरामीलाई दशभन्दा धेरै अस्पतालमा चहार्दा बाटोमै मृत्यु भएको छ । त्यसैले समयमा नै विचार गरौँ । सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पञ्जा अनिवार्य लगाउने गरौँ । स्यानिटाइजरले हात सफा गरिरहने र साबुन पानीले हात धुने र विशेष सतर्क रहौँ ।

–कोरोना मलाई सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दुरी कायम गर्नु पर्दैन, यो त अरुले गर्नुपर्छ भन्ने गलत धारणालाई हटाउनु पर्दछ । बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरुलाई विशेष ध्यान दिनुपर्छ। उहाँहरुसँग बस्दा पनि व्यक्ति गत दुरी कायम गर्न लगाउनु पर्दछ । कुरा गर्दा मास्क लगाउने व्यवस्था गर्नु पर्दछ ।

–आफन्त, छिमेकी, साथी, सहकर्मी आदिसँग हामीले मास्क नलगाई कुरा नगरौ, सँगै बसेर चिया, खाजा, खाना पनि अर्को व्यवस्था भएसम्म बन्द गरौँ । हामीलाई भ्रम छ कि कोरोना सर्ने नचिनेका व्यक्तिबाट हो । कोरोना संक्रमण आफन्तबाट सर्छ अनि आफन्तलाई नै सारिन्छ । तसर्थ हामीहरुले आफन्तसँग पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्दछ।

–पसलबाट लिएको हरेक सामानहरुलाई राम्रोसँग सर–सफाई गरि संक्रमणरहित बनेर मात्र प्रयोग गरौँ। दशैंमा मासु खानैपर्छ भन्ने छैन । घरमै बनाउन सकिने परिकारहरू खानुहोस् । किन्नैपर्ने अवस्थामा नजिकैको पसलमा मात्रै जाने । आफूलाई एलर्जी हुने खानेकुरा नखाने र चिल्लोपिरो धेरै खान हुँदैन ।  होटल, रेस्टुरेन्ट, चियापसल, कफीसप तथा पसलमा साथीहरु सँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, एउटै बियरको बोतलबाट सबैले चुस्की लिने, जहाँ पायो त्यहीँ थुक्ने नगरौँ ।

–गत वर्षका दशैँ तिहार जस्तो यो बर्षको दशैं तथा तिहारमा जुवा, तास, कौडा, पिङ्गलगायत समुहमा खेलिने वा समूहमा रमाइलो गरिने कुनै पनि कार्यमा भाग नलिऔँ। किनकि कोरोना समुदायमा फैलिई सकेको छ। कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा नहुने हुनाले हरेक व्यक्तिसँग सुरक्षित व्यवहार गरौ ।

–रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भएमा घरमै आराम गरौँ । बिरामी हुँदा आफूले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ। त्यसैले आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित बनाऔं । बाहिरबाट घरमा आएपछि मास्क, चश्मा, झोला, बाहिरी कपडाआदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र घरका परिवारसँग सम्पर्कमा रहने गरौँ, विचार गराँै मान्छे आफ्नो हुन्छ रोग आफ्नो हुँदैन ।

–सरकारको भर नपरौं । आफ्नो ज्यान आफैं बचाउनको लागि पहल गरौँ । हामी सुरक्षित ठाउँमा बसौं। घरभित्र नै बसौं । खतरायुक्त ठाउँबाट सुरक्षित ठाउँमा जानु हरेक प्राणीको नैसर्गिक स्वभाव हो ।  हामी अहिले अत्यन्तै विषम परिस्थितिमा छौं । यो अवस्थामा हरेक नागरिक जिम्मेवार भएर आफ्नो शरीरमा, आफ्नो घरमा तथा आफ्नो समाजमा संक्रमण नल्याउन हरेक पल सतर्क हुनु जरुरी छ । मास्क किन्न नसक्ने निम्न आय भएका व्यक्तिलाई हामी सबैले मास्क वितरण गराँै । सही तरिकाले मास्क लगाउन अनुरोध गरौँ ।

–ज्वरो आएमा, सुख्खा खोकी लागेमा तथा स्वाद र बासनामा तलमाथि भएमा तुरुन्तै परीक्षण गर्न जाऔँ । पोजेटिभ रिपोर्ट आयो भने घरमा छुट्टै बसौ, अरुको सम्पर्कबाट अलि टाढा बसौँ । तागतिलो खाने कुरा खाऔ, नियमित व्यायाम गरौँ ।

–हामी सबैले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा अबलम्बन गरौ जसले गर्दा संक्रमण घट्दै जान्छ। हामी पनि सुरक्षित हुन्छौं । दशैं–तिहार जस्ता महान पर्वहरुलाई यसरी पनि सहज रुपमा घरैमा बसेर रमाइलो गरेर मनाउन सकिन्छ। सवैलाई बडा दशैं, तिहार, नेपाल संवत र छठ पर्वको हार्दिक मंगलमय शुभकामना !


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल कात्तिक ६ गते विहीवार ।