ललितपुर। ललितपुर महानगरपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको छ। ललितपुर महानगरपालिकाको समाजकल्याण महाशाखामा स्तनपान कक्ष संचालनमा ल्याएको हो। जसको उदघाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालवाट भएको छ।

शुक्रबार छाबहालस्थित ललितपुर महानगरपालिकाको समाजकल्याण महाशाखाको कार्यालयमा उपमेयर गीता सत्यालले स्तनपान कक्षको उदघाटन पश्चात स्तनपान कक्ष शुभारम्भ भएको घोषणा गरिएको छ।

ललितपुर महानगरपालिका कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीहरुको सुविधाको लागि उक्त स्तनपान कक्षको संचालनमा ल्याइएको जानकारी उपमेयर सत्यालले दिएकी छन्। कर्मचारीहरु र सेवाग्राहीहरुको समस्यालाई ध्यानमा राखेर उनीहरुका सन्तानलाई स्तनपान गराउन सहज होस भन्ने उद्देश्यका साथ स्तनपान कक्षको सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत सरिता महर्जनको भनाई रहेको छ।

जनस्वास्थ्य अधिकृत महर्जनका अनुसार यो कार्यलाई निरन्तरता दिंदै महानगरभित्रका ११ वटा वडा दैनिक क्लिनिक, १० वटा नगर स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी र उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्रमा समेत व्यवस्था गरिनेछ। नेपालका महानगरपालिकाहरुमा संभवत पहिलो पल्ट स्तनपान कक्ष शुभारम्भ गर्ने महानगरपालिकामा ललितपुर महानगरपालिका नै भएको छ।
प्रकाशन मिति–२०७६ साल साउन १७ गते शुक्रवार ।