–निशान बुढाथोकी
काठमाडौं। एक अध्ययन अनुसार, विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा नै पर्छ । तर, नेपालमा भने पाठेघरको मुखको क्यान्सर पछि स्तन क्यान्सर दोश्रो नम्बरमा पर्छ । नेपालमा प्रत्येक दिन ६ जना महिलालाई स्तन क्यान्सर हुने र प्रत्येक दिन ३ जना महिलाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ।

अक्टोबर महिनालाई स्तन क्यान्सर विरुद्ध सचेतना फैलाउने अभियानको रुपमा विश्वभर नै मनाउने गरिन्छ। जुन सुकै उमेर समुहको महिलामा यस्तो समस्या देखा पर्दछ भन्ने कुरा अध्ययनले देखाएको छ।

त्यसो त आउँदो आर्थिक वर्षको बजेटमा पनि सरकारले, ४० वर्ष माथिका नागरिकको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको, वर्षमा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था राखेको छ। साथै तीन वटा प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ।

महिलाका धेरै समस्याहरुमध्ये स्वास्थ्य पनि एक हो । स्वास्थ्यको कुरा गर्दा स्तन क्यान्सरकै कारण महिलाले समस्या भोगेका मात्र छैनन् ज्यान नै जोखिममा पारेको अवस्था पनि छ। स्तन क्यान्सर समयमै उपचार गरे निको हुने स्वास्थ्य सम्बन्धीका अध्ययनहरुले देखाएका छन्।

तर पछिल्लो समय नेपालमा स्तन क्यान्सरका विरामीको संख्या बढ्दै गएको छ। कसरी र किन हुन्छ स्तन क्यान्सर, यसबाट कसरी बच्न सकिन्छ भन्ने कुराको ज्ञान नहुनु र खानपान, लाज, हेलचेक्तयाई, गरिबी, स्वास्थ्य सेवासम्मको पहुँचको अभावजस्ता कारण उपचार गरे निको हुने स्तन क्यान्सरबाट नेपाली महिला प्रताडित भएका छन् ।

रोग विभिन्न प्रकारका हुन्छन् । तर शारिरीक संरचना तथा बनौटले महिलालाई संक्रमण हुने रोग पुरुषको तुलनामा धेरै छन्। समयमै उपचार गरे रोगबाट सहजै बच्न सकिन्छ अनि समयका साथै पैसा पनि जोगाउन सकिन्छ। तर महिलाले रोग लुकाउने, लजाउनेजस्ता कारण स्तन क्यान्सर जस्ता रोगबाट पिडित बनेका उदाहरण पनि छन्।

त्यसैले सबैभन्दा पहिला त रोग लाग्न नदिन महिलाले ध्यान पु-याउनु पर्छ। र स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिन साथ स्वास्थ्य सेवा लिन पछि पर्नु हुदैन । यसो गर्न सके महिलाले स्तन क्यान्सरजस्ता रोगहरुबाट अवश्य बच्न सक्ने देखिन्छ। यसै विषयमा हामीले मध्यपुर थिमि नगरपालिका स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत महिला प्रजनन् अंग संवन्धी क्यान्सरको बिशेषज्ञ डाक्टर सुरेश कायस्थसंग कुराकानी गरेका छांै।

१–मुख्य गरी स्तन क्यान्सर के कारण हुन्छ ?
स्तन क्यान्सर महिला र पुरुष दुवैमा देखिन्छ । तर पुरुषको तुलनामा महिलाहरुमा बढी देखिन्छ। क्यान्सरको केही जोखिमपूर्ण अवस्थाहरु हुन्छन् । हुन् त महिला आफैमा जोखिमपूर्ण अवस्था हो। त्यसमा पनि जति उमेर बढ्दै गयो त्यति नै मात्रामा क्यान्सरको जोखिम बढ्दै हुने सम्भावना बढी हुन्छ। तौल बढी भएको महिलामा, महिनावारी कम उमेरमा भएको महिलामा,छिटो छिटो महिनावारी हुने महिला, ढिलो सुक्यो भने पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ । यो बाहेक वंशानुगत पनि हुन सक्छ जस्तैः माइतीमा आमा, दिदी , बहिनी, हजुरआमाहरुमा स्तन क्यान्सर भएको छ भने एक पछि अर्कोमा सर्दै जान्छ ।

२–कुन उमेर समुहका महिलालाई देखा पर्दछ ?
अध्ययन अनुसार यति नै उमेर भन्ने त छैन। कामकाजले गर्दा ढिलो विहे गरी बच्चा जन्माउँदा, त्यसपछि एक जना बच्चा मात्र जन्माउनु भन्नुको मतलब थोरै बच्चा जन्माउनु, बच्चा नहुनु पनि जोखिमपूर्ण अवस्था हो। उमेरको हकमा कसैलाई छिटो,कसैलाई ढिलो देखा पर्न सक्छ। परिवारमा कसैलाई स्तन क्यान्सर छ भने २५ /३० वर्षको उमेरमा नै देखा पर्न सक्छ यदि परिवारमा कसैलाई देखा परेको छैन भने ४०/४५ वर्षको उमेरमा देखा पर्ने सम्भावना हुन्छ ।

३–स्तन क्यान्सरका लक्षण र बच्ने उपाय के के हुन्?
स्तनको कुनै पनि भागमा गाठागुठी आउनु,मुन्टाबाट रगत देखा पर्नु ,पिप आउनु, एउटा स्तन सानो हुनु र अर्को स्तन ठुलो हुनु , छालामा घाउँ आउनु, छाला तन्किनु, स्वरुप बिग्रनु, दुवै काखीमा गिख्रा आउनु स्तन क्यान्सरका लक्षणहरु हुन् भने यस बाट बच्न आफ्नो तौललाई नियन्त्रण गर्ने, नियमित रुपमा व्यायाम गर्ने, नियमित जाँच गराउने गर्नु पर्दछ ।

४–गर्भ निरोधक औषधिको सेवनले कत्तिको असर गर्छ ?
खासमा गर्भ निरोधक औषधिको सेवनले असर गर्छ भन्ने विषयमा फरक फरक अध्ययनले फरक फरक कुरा देखाउँछ। स्तन क्यान्सर एकै पटक ठूलो हुने होइन सानो सानो बाट ठूलो हुँदै जाने हो । कसैमा लुकेर बसेको स्तन क्यान्सर केराउको दाना जस्तो हुन्छ भने कसैमा केही पनि समस्या हुँदैन, यस्तो अवस्थामा गर्भ निरोधक चक्कीले स्तन क्यान्सरबाट बचाउँछ। परिवारमा कसैलाई क्यान्सर छ भने यस्तो अवस्थामा बचाउन पिल्स् चक्की वा गर्भ निरोधक चक्की नै दिने हो। त्यही भएर यस्तो अवस्थामा बचाउने काम गर्दछ भने कसैमा लुकेर बसेको अवस्थामा छ भने त्यसले बढाउने काम गर्छ। त्यसै कारण कसलाई कसरी काम गर्छ भन्ने कुरा जाँच गरेर मात्र थाह पाउन सकिन्छ।

५–कसरी थाहा पाउन सकिन्छ ! घरेलु उपाय पनि छन् कि ?
माथिल्लो कपडा निकालेर ऐना अगाडी उभिने र कुनै समस्या छ वा छैन हेर्ने । अलि अगाडि निहुरेर छालामा दाग वा छाला तानिएको छ कि छैन हेर्ने । त्यसपछि दुवै स्तनको आकार एक नासको छ कि छैन हेर्ने । मुन्टाहरु भित्र तानिएको छ कि छैन हेर्ने। यी कुराहरु दुवै हात ,हिप वा कम्मर, माथि उठाएर हेर्नुपर्दछ। त्यसपछि स्तनलाई छामेर जाँच गर्नुपर्छ । यो उठेर र सुतेर दुवै अवस्थामा गर्न सकिन्छ। यस्तो गर्दा जुन स्तन जाँच्ने हो, त्यो भागको हात, टाउको पछाडी लाने र अर्को हातको हत्केलाले छाला थिचेर स्तनको कुनै एउटा दिशामा सबै भाग छाम्ने र गठागुठी छ छैन हेनुृ पर्दछ । यदि कुनै समस्या देखिएमा डाक्टरलाई जाँच गराउनु पर्दछ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन १० गते आइतवार ।