money_nepalii

काठमाडौ। निर्वाचनको बेलामा विशेष गरेर उम्मेदवारहरुलाई खर्च गर्न रकमकै समस्या हुने गर्दछ। कुनैपनि चुनावमा उम्मेदवार बनेपछि जिते पनि नजितेपनि चुनाव प्रचार–प्रसारका लागि कार्यकर्ता परिचालन लगायतका विभिन्न कार्यहरुमा लाखौ लाख खर्च हुने गर्दछ।

त्यो खर्चको लागि कतिपय उम्मेदवारले घर–घराना तथा विभिन्न सहकारी अनि बैंकमा घर–खेत बन्धकी राखेर भएपनि ऋण–सापटी लिएर जोहो गर्ने गरेका छन्। कोही भने स्थानीय जनता तथा व्यापारीसंग चन्दा मागेरै भएपनि चुनावी खर्च उठाउने कसरतमा रहेका छन्।

अर्कोतर्फ कतिपय दल तथा पार्टीले सिधै चुनाव खर्च संवन्धित उम्मेदवारलाई दिने गरेको पाइएको छ। यसपालिको स्थानीय चुनावमा नेपाली कांग्रेसले मात्र उम्मेदवारहरुले पार्टीले चुनाव खर्च दिने भएको छ। नेकपा माओवादी केन्द्रले भने उम्मेदवारको अवस्था हेरेर मात्र पार्टीले सहयोग गर्ने भएको छ।

नेकपा एमालेले भने स्थानीय चुनावमा उम्मेदवारहरुलाई आफैले स्थानीय रुपमा खर्चको जोहो गर्न निर्देशन दिइसकेको छ। राप्रपा, फोरम लोकतान्त्रिक लगायतका पार्टीले पनि स्थानीय रुपमा जोहो गर्न भनिसकेको छ।

यस्तो अवस्थामा लाखौ–करोड खर्च गरेर चुनाव जित्नेहरुका लागि त स्थानीय निकाय कमाउने भाडो बन्ने पक्का भएको छ। हार्नेहरुको त कन्तविजोग हुने निश्चित भएको छ। यसले गर्दा नेपाली कांग्रेसका उम्मेदवारहरुमा बाहेक अरु पार्टीका उम्मेदवारहरुलाई खर्च जुटाउनकै लागि धौ धौ परेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २२ गते शुक्रबार ।