काठमार्डाैं। स्थानीय निर्वाचन, २०७९ को परिणाम आउने क्रम जारी छ। अघिल्लो पाँच बर्षअघिको स्थानीय निर्वाचनमा अत्यन्त आशलाग्दो पार्टीको रुपमा देखिएको विवेकशील साझा पार्टीको नतिजा यसपालिको स्थानीय निर्वाचनमा परिणाम अपेक्षाकृत आउन नसकेकोमा विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति मार्फत दुःख व्यक्त गरेका छन्।

विज्ञप्तिमा गत पाँच वर्षमा विवेकशील साझा पार्टीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेको भनिएको छ। त्यसबाट विवेकशील साझा पार्टीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भएको जनाउगर्दै निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसकेको भनिएको छ । जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो, त्यो नभएको र पार्टीमा टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखिएकोमा पार्टी क्षमा प्रार्थी भएको पनि भनिएको छ। कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ। वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ। त्यो कहिल्यै गुम्ने पनि छैन। यो हाम्रो प्रतिबद्धता हो पनि भनेर विज्ञप्तिमा उल्लेख छ।

गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ। ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ भन्दै अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी भएको पनि भनेको छ।
प्रकाशन मिति–२०७९ साल जेठ २ गते सोमवार ।