Artist Bikram Pariyar
Artist Bikram Pariyar

काठमाडौ। तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नंवर १ तल्लो भादगाउँ स्थित मतदान केन्द्रमा मतदान गरेर घुम्न निस्केका नेपाली चलचित्र तथा रंगमञ्चका कलाकार बिक्रम परियारको हत्या भएको छ। स्थानीय निर्वाचनको माहोलमा कलाकार परियारको अज्ञात समूहले ढुंगाले हानेर आक्रमण गरी हत्या गरेको खुलासा भएको छ।

काठमाडौमा बसेर कलाकारिता गर्दै आइरहेका परियार स्थानीय चुनावमा भोट हाल्न घर गएका थिए। भोट खसालेर घर नजिकै साथीसँग घुम्न निस्किएका बेला केही व्यक्तिहरुको समूहले आक्रमण गरी परियारको हत्या गरिएको प्रारम्भिक प्रहरी अनुसन्धानवाट देखिएको छ। आक्रमणकारीको पहिचान हुन सकेको छैन।

स्थानीय प्रशासनले हत्यामा संलग्न भएको आशंकामा सोधपुछको लागि दुई जना महिलालाई नियन्त्रणमा लिएको बताईएको छ । कलाकार परियारको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ। परियारका एक श्रीमती, १४ बर्षका एक छोरा र ९ बर्षकी एक छोरी छन् । परियारले चलचित्र ‘बधशाला’ पनि अभिनय गरेका छन् । परियारले बिशेष गरी रेडियो नाटकमा योगदान दिएका थिए ।
प्रकाशन मिति–२०७४ बैशाख ३१ गते आइतवार ।