काठमाडौ। नेपाली युवाहरुलाई व्यापक प्रोत्साहन दिनका लागि उनीहरुलाई नेपालमा नै बसेर नौलो सिर्जनात्मक कार्य गर्न प्रोत्साहन दिने कार्य भएको छ। त्यो कार्य काठमाडौं महानगरपालिका शहरी योजना आयोगले सिर्जनात्मक प्रतिभावान युवाहरुमाझ अर्वानसिटी स्मार्ट टेक्नोलोजी च्यालेन्ज कार्यक्रम गरेर नविन दिशावोध दिने कार्य भएको छ।

हाम्रो काठमाडौं हामी बनाउंछौ भन्ने अत्यन्त हट–टची नारासहित ६ महिनाअघिवाट शुरु भएको स्मार्ट टेक्नोलोजी च्यालेञ्जको ग्राण्ड फाइनल बुधवार राष्ट्रिय सभागृहमा संपन्न भएको छ। जसमा समुदाय र वातावरण बिधाबाट एनी टाइम ट्वाइलेट नामक समूहले नयाँ दिशावोध दिएर काठमाडौं महानगरको आवश्यकतालाई मध्यनजर गरेर ल्याएको टेक्नोलोजी एनी टाइम ट्वाइलेट बिजेता बनेका छन् ।

शहरमा हरेक मानिसले शौचालयको समस्या भोगेका छन् । त्यो शौचालयको समस्यालाई टेक्नोलोजीको माध्यमवाट काठमाडौं महानगरका हजारौं होटल तथा रेष्टुरेन्टका शौचालयलाई निःशुल्क प्रयोग गर्न मिल्ने बाताबरण सहितको योजना एनी टाइम ट्वाइलेटले ल्याएको छ। यही सोचमा आधारित प्रबिधि प्रतिस्पर्धाबाट समूह बिजेता बनेको हो ।

बिजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नगद ५ लाख रुपैयाँ प्रदान गरेका थिए। यस समूहले बिषयगत बिजेता भएर २ लाखसहित जम्मा ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। अन्तिम चरणमा पुगेका २४ वटा समूहबीच भएको प्रतियोगितावाट एनी टाइम ट्वाइलेट विजेता बनेको हो। ४ समूह बिजेता र ४ समूह उपबिजेता बनेका प्रतियोगिताको अन्तिममा बिजेता ४ समूहले प्रधानमन्त्रीकै समक्ष प्रस्तुतिकरण गरेका थिए । यस प्रस्तुतिमा ५ जना निर्णायकले दिएको अङ्कका आधारमा एनि टाइम बिजेता बनेको हो ।

यो समूहसँगै अन्य ३ वटा बिषयगत बिजेता समूहलाई जनही २ लाख रुपैयाँ प्रदान गरियो । यसरी बिषयगत बिजेता भएर २ लाख रुपैयाँ पाउनेमा शहरी पूर्वाधारतर्फ ट्राफिक नक्सा, महानगरीय सामुदायिक सेवातर्फ डिजिटल नेपाल र महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापनतर्फ भूमि नामक समूह छन् ।

प्रतिस्पर्धामा समुदाय र वातावरणतर्फ एरो रुट, शहरी पूर्वाधारतर्फ सफा सहर, महानगरीय सामुदायिक सेवातर्फ नेपाल मेड र महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापनतर्फ अटोमाटा उपबिजेता भए। उपबिजेता सबैलाई जनही १ लाख रुपैयाँ प्रदान गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुरस्कार वितरण समारोह भव्य रुपमा भएको थियो।

Photo By-Nripendra Lal Shrestha (Lahana)/ Laxmi Kumari Shrestha.

प्रकाशन मिति–२०७६ साल जेठ २३ गते विहीवार ।