काठमाडौं। काठमाडौंवाट सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रक फर्किएका छन्। अनौठो गन्ध आएको भन्दै बीचबाटै फर्किएका हुन। स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक सोमबार बिहान उडेका थिए।

कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार, विमान चालकले गन्धका कारण उडान भर्न नसक्‍ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुनः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नै फिर्ता भएका थिए। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उक्त स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गरेका छन्। उनका अनुसार के कस्तो गन्ध आएको भनेर यकिन भइसकेको छैन।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार स्यानिटाइजरको गन्धका कारण विमानहरू बीचबाटै फिर्ता भएका हुन्।
प्रकाशन मिति–२०७६ साल चैत १७ गते सोमवार ।