काठमाडौ। नेपालमा विशेषत लोकदोहरीको उर्लदो बाढी नै आएको छ। त्यो उर्लदो बाढीमा माछा भन्दा बढी भ्यागुतो बगेको पाइन्छ। जसका कारण नेपाली लोकदोहरीमा चाहिने भन्दा बढी नै छाडा तथा अश्लिलता आइरहेको आरोप रहेको छ।

कति गायक–गायिकाले उत्ताउलो बनेर दर्शक सामुन्ने सार्वजनिक रुपमा छाडा तथा अश्लिल लोकदोहरी गाएर विकृति तथा विसंगति फैलाइरहेको पाइन्छ। यस विकृति तथा विसंगतिलाई लोकदोहरी गायक–गायिकाले नै रोक्नु पर्ने र स्वच्छन्द लोकदोहरी गाउनु पर्ने जिकिर चर्चित लोकदोहरी गायिका उमा श्रेष्ठको रहेको छ।

विगत बाह्र बर्षदेखि निरन्तर नेपाली लोकदोहरी गीत गाएर यस क्षेत्रको उत्थानमा कटिबद्ध गायिका श्रेष्ठले सस्तो चर्चाको लागि आफूले कहिले पनि छाडा तथा अश्लिल लोकदोहरी नगाएको दावी गरेकी छन्। जति पनि गीत गाएँ–ती सवै सामाजिक रुपमा सवैले सुन्न मिल्ने गीत नै गाउंदै आएको गायिका श्रेष्ठको ठोकुवा रहेको छ।

सिन्धुपाल्चोक चौताराकी यी गायिका श्रेष्ठले एक दर्जन भन्दा बढी लोकदोहरीका एल्बम निकालिसकेकी छन्। सोही अनुपातमा तीजका गीत पनि गाइसकेकी छन्। आधुनिक तथा फिल्मी गीत भन्दा तीज गीत तथा लोकदोहरीमा सानैदेखि मन गएकोले यसैमा स्पेशलाइज गर्ने कार्य आफूले गर्दैआएको गायिका श्रेष्ठको भनाई रहेको छ।

विशेषत विवाह पश्चात नै गीत गायनमा अगाडि बढ्ेको र श्रीमान कला क्षेत्रको नभएतापनि लोकदोहरी गायनमा निरन्तर सपोर्टका कारण आफू यस क्षेत्रमा व्यावसायिक रुपमा सफल भएको पनि गायिका श्रेष्ठले खुलस्त पारेकी छन्। लोकदोहरी गायनलाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि गायिका श्रेष्ठले काठमाडौको कोटेश्वर तीनकुनेमा सालघाँरी दोहरी सांझ रेष्टुरेन्ट नै स्थापना गरेकी छन्।

सालघाँरी दोहरी सांझमा गायिका श्रेष्ठले नियमित रुपमा लोकदोहरी गाएर रौनकता थप्दैआएकी छन्। त्यसको अलावा विभिन्न सडक महोत्सव तथा फेस्टिबलहरुमा लोकदोहरी गाएर सवैको वाहवाही पाउंदै आएकी छन्। त्यसैको सम्मान स्वरुप केही दिनअघि मात्र राजा राजेन्द्र एकल सांझमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका श्रेष्ठलाई विशेष सम्मान समेत प्रदान गरिएको छ।
प्रकाशन मिति–२०७४ साल चैत्र २७ गते मंगलवार ।