काठमाडौं। सत्यवादीहरुको पछाडि कुनैपनि भीड हुदैन भन्ने वास्तविक यथार्थता धरान उपमहानगरपालिकामा स्वतन्त्रवाट उम्मेदवार वनेका हर्क साङपाङ राईको शानदार जितवाट प्रमाणित गरिसकेको छ। हर्कको पछाडि न कुनै ठूलो शक्ति थियो त कुनै ठूलो जमातको समर्थक ।

केवल सामाजिक सेवाको बलियो आधारवाट स्वतन्त्रवाट मेयरमा लौरो चिन्हवाट शानदार जित हासिल गरेका हर्कको एउटै मात्र नारा रहेको थियो–त्यो नारा भनेकै काकाकुल धरान नगरलाई खानेपानी जसरी भएपनि दिने ! सोही नाराको बलमा जितेका हर्क सवैका लागि आदर्श र प्रेरणा बने ।

सादा जीवन अनि उच्च विचारका धनी लौरो चिन्ह बोकेर हर्क साङपाङ राई धरानको मेयर बनेजस्तै यता संघीय राजधानी काठमाडौं महानगरपालिकाको आकर्षण बनिरहेको लौरो चिन्हवाटै स्वतन्त्रवाट मेयरको उम्मेदवार बनेका बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुने लगभग निश्चित जस्तो बनिसकेको छ।

मेयरको उम्मेदवारी घोषणा गर्नु केही दिनअघि मात्र काठमाडौं महानगरवासीले नाम सुनेका बालेन साह सवैको प्रिय बन्नुको पछाडि काठमाडौं महानगरवासी दलबाट वाक्कदिक्क भएरै हो। त्यसमाथि, बालेन साहले काठमाडौं महानगरलाई वितेको पाँच बर्षदेखि लामो अध्ययन गरेर ठूलै सोच र योजना बनाएको कारण जनमत उनीतर्फ तेर्सिएको हुनुपर्ने आँकन गरिएको छ ।

यसैबीच, स्थानीय तहको निर्वाचन हुनुअघि नै काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साहले ९० हजार ८ सय ३५ मत ल्याएर आफूले चुनाव जित्ने भन्दै क्यालकुलेटरमा मत सार्वजनिक गरेको पनि खुलासा भएको छ। जुन उनका समर्थकले सामाजिक सञ्जालमा भाइरल बनाए। चुनाव भएको छैन, यति मतले जित्छु भनेर कन्फिडेन्सका साथ बालेनले किन भने भन्ने विषय सर्वत्र चासोको विषय बन्यो।

उनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा पनि त्यही कुरा पटक पटक दोहोर्याए । तर, नेपाली कांग्रेस, नेकपा एमालेका कुनै पनि नेताले त्यसको वास्ता गरेनन् । अर्थात् बालेनले चुनाव जित्छु भनेर ढुक्कका साथ भनिरहँदा पनि उनले किन त्यसो भने भनेर खोज्न र अध्ययन गर्न नचाहेकै कारण अहिले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार पछि परेका छन् ।

बालेनले मंगलवार रातिसम्मको मतगणनामा ५२ हजारभन्दा बढी मत ल्याइसकेका छन्। उनले कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजारभन्दा बढी मतले पछि पारेका छन् । अहिलेकै भोट प्याटर्न हेर्दा बालेनले ९०८३५ मत ल्याउन नसक्ने स्पष्ट छ। उनले ६५ हजार मत ल्याएर चुनाव जित्ने अनुमान गरिएको छ ।

काठमाडौं महानगरपालिकामा तीन लाख मतदाता छन् । बालेन चुनावअघिदेखि नै काठमाडौंका मतदाताको अध्ययन गर्न थालेका थिए। स्रोतका अनुसार बालेनले सबै मतदातालाई भन्दा पनि युवालाई टार्गेट बनाए। काठमाडौंको कोर एरियालाई भन्दा बाहिरी मतदातालाई प्राथमिकता दिए । जसमा एक लाखभन्दा बढी युवायुवती भएको उनले पाए । तिनै मतदातालाई लक्षित गर्दैै चुनावी क्याम्पेन सुरु गरे। सबैलाई सामाजिक सञ्जालमार्फत भोट मागे।

विदेशमा रहेका युवायुवतीलाई पनि आफ्ना काठमाडौंमा रहेका मतदाता आमाबाबुलाई भोट हाल्न क्याम्पेन गरे। जुन अहिले उनले पाइरहेको मतले पनि पुष्टि गरेको छ । यदि स्थानीय निर्वाचनमा सवा दुई लाख मत खसेको भए बदर मतको संख्यामा कमी आएको भए बालेनले ढुक्कले ९०८३५ मत मात्रै हैन् त्यो भन्दा धेरै ल्याउने आकलन र विश्लेषण अहिले भइरहेको छ। बालेनले पाँच बर्ष गरेको कसरतले सार्थकता पाएको सवैको निश्कर्ष रहेको छ।
प्रकाशन मिति–२०७९ साल जेठ १० गते मंगलवार ।