काठमाडौ। जन्मदिन तथा कुनै उत्सव र आफ्ना प्रियजनका सफलतामा ठूलो भोज–भतेर गर्ने प्रचलन क्रमिक रुपमा घट्न थालेका छन्। महंगो खर्चमा उत्सव मनाएर निस्फिक्री रक्सी खाएर धुम मचाउने विकृत प्रचलनलाई त्याग्दै अचेल नेपालमा नेपालीहरु बृद्धाश्रम तथा बालआश्रमहरुमा आश्रित दिन–दुःखी–असहायहरुलाई एक छाक मिठो–मसिनो तथा एक सरो पहिरन लगाउन दिएर ती उत्सवलाई सामाजिक बनाउने कार्य हुन थालेको छ। जुन अत्यन्त राम्रो तथा प्रभावकारी कार्य मानिन्छ।

यसैक्रममा काठमाडौको सुविधासंपन्न काठमाडौको नयाँ बानेश्वर मिनभवन बागमती पुल नजिक रहेको निसहाय सेवा सदनमा रहेका ४० जना बृद्ध–बृद्धाहरुलाई सामूहिक भोजन गराउने कार्य शनिवार भएको छ। लायन्स क्लव अफ काठमाडौ स्वनिगःको आयोजनामा सामूहिक भोजन कार्यक्रम भएको हो।

नेपालमा रहेकी लायन्स क्लव अफ काठमाडौ स्वनिगःकी कोषाध्यक्ष कविता श्रेष्ठ तथा उनको अमेरिकामा रहेका दाजु राजेश श्रेष्ठको जन्मदिन पारेर स्वनिगःले बृद्ध–बृद्धाहरुलाई सामाजिक भोजन गराइएको आयोजक स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले बताएका छन्।

३३ जना बृद्धा तथा ७ जना बृद्धहरुको आश्रय स्थल रहेको निसहाय सेवा सदन बृद्धाश्रम बनेको छ। जहाँका बृद्ध–बृद्धा घरमा जस्तै अत्यन्त सुख–सयलमा आफूहरु रहेको र अत्यन्त खुशी रहेको भिजन संसारसंगको कुराकानीमा भनेका छन्। भक्तपुरवाट १० बर्षअघि त्यस बृद्धाश्रममा आएकी सूर्यलक्ष्मी श्रेष्ठले आफूलाई यस आश्रममा आएदेखि कहिले पनि असहाय अनुभव नभएको र आफ्नो सवै भएको अनुभव भएको बताएकी छन्। ८२ बर्षिया श्रेष्ठले बेला–बखत तिर्थाटन पनि गर्न मिलिरहेको र फुर्सदमा बत्ती काट्ने तथा धर्मकर्ममा पनि लाग्न पाएको सुनाएकी छन्।

सगुन शाहले स्थापना गरेको यस सुविधा संपन्न बृद्धाश्रममा अहोरात्र १३ जना कर्मचारी खटिरहेका छन्। शनिवार वाहेक हरेक दिन एकजना नर्स तथा डाक्टरको समेत सेवा सुविधाको व्यवस्था निसहाय सेवा सदनले गरेको छ। यसले गर्दा पनि यस बृद्धाआश्रममा रहेका बृद्ध–बृद्धा स्वस्थ तथा तन्दुरुस्त देखिएका छन्।

प्रकाशन मिति–२०७४ साल पुष २ गते आइतवार ।