काठमाडौं। नेपाली चलचित्रमा स्वभाविक अभिनय गरेर अत्यन्त ख्याति कमाएका अमेरिका रिटर्न अभिनेता सरोज खनालले माला आर्टस् एकाडेमीको शुभारम्भ गरेका छन्। अभिनेता खनालको एकाडेमी काठमाडौंको दरवारमार्गमा शुभारम्भ गरिएको हो।

नेपाली चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध निर्देशकसमेत रहेका अभिनेता खनालले भनेका छन्।

शुभारम्भ कार्यक्रममा कवि तथा गीतकार अनि उद्योगपति बसन्त चौधरी, बरिष्ठ नाटककार हरिहर शर्मा, बरिष्ठ अभिनेत्री गौरी मल्ल, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, बरिष्ठ खलनायक सुनिल थापा लगायतले नेपाली चलचित्र क्षेत्रमा दक्षजनशक्ति उत्पादनमा एकाडेमीको भूमिका महत्वपूर्ण हुने भनाई राखेका थिए।


एकाडेमीका अध्यक्ष चन्द्रमाला शर्माले अभिनय कलालाई चुस्त बनाउन एकाडेमीले सहयोग गर्ने जिकिर गरेकी छन्। यस एकाडेमीले तीन महिने कक्षा संचालन गर्ने र त्यसको शुल्क रु ६० हजार लाग्ने जनाइएको छ।

माला कला एकाडेमीलाई प्रोडक्सन हाउसका रुपमा समेत विकास गरिएकाले चलचित्र निर्माणसमेत गर्ने योजनासमेत रहेको अभिनेता खनालले भनेका छन्।


प्रकाशन मिति–२०७५ साल मंंसीर १ गते शनिवार ।