काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैं पोहोर जस्तो यो बर्ष हुन सकेन। पोहोर–परार बडा दशैंको बेला एक अर्काकोमा गएर बडा दशैं मनाउनुको रौनकता बेग्लै थियो। यो बर्ष भने, विश्वव्यापी कोरोना महामारीका कारण एक अर्काकोमा गएर बडा दशैं मनाउनु भएन। र प्राय घरैमा बसेर बडा दशैं मनाउने कार्य भएको छ।

त्यसअनुरुप नेपाली चलचित्रका स्वभाविक अभिनयकी माहिर अभिनेत्री अनिता केसी पनि घरैमा बसेर बडा दशैं मनाउने कार्यमा रहेको भिजन संसार डटकमसंगको कुराकानीमा भनेकी छन्। विश्वव्यापी समयअनुरुप हामी सवै चल्नु पर्ने र ज्यान रहे तथा स्वस्थ बनेमा हरेक बर्ष बडा दशैं आउने गर्दछ। यो बर्ष यस्तै भयो–ज्यानलाई स्वस्थ र तन्दूरुस्त भएमा अर्को बर्षको बडा दशैं रमाइलोसंग मनाउन सवैले पाउने सही विचार पोखेकी अभिनेत्री अनिता केसी कलाकारका लागि पोजिटिभ र नेगेटिभ रोल दुवै आवश्यक भएको जिकिर गर्छिन्।

पोजिटिभ रोलमा दर्शकको ताली पाउने गरिन्छ भने, नेगेटिभ रोलमा गाली पाइन्छ। आखिर ताली र गाली दुवै कलाकारका लागि सफलताको मापन  भएको दावी अभिनेत्री केसीको रहेको छ। यसकारण आफूले प्राय चलचित्रहरुमा पोजिटिभ तथा नेगेटिभ दुवै रोलमा बराबर अभिनय गर्दैआएको अभिनेत्री केसीले खुलासा गरेकी छन्। पछिल्लो फिल्म षतरञ्जमा मिठो नेगेटिभ रोलमा गजबको अभिनय गरेको वताउने अभिनेत्री केसीको पहिलो सिरियल काली गण्डकीको सेरोफेरोमा पोजिटिभमय मायालु रोलमा अभिनय रहेको छ।

 चलचित्र द कमाण्डोमा कमाण्डोलाई माया गर्ने कमाण्डो प्रेमिकाको रोलमा देखिएकी अभिनेत्री केसी बरिष्ठ अभिनेता नीर शाहको ऐतिहासिक चलचित्र सेतो बाघमा बघिनी नै बनेकी छन्। सेतो बाघमा माहिली महारानीको बुलन्द रोलमा अभिनय गरेकी छन्। 

फलेको बृक्ष जसरी निरन्तर निहुरिने गर्ने गर्छ। त्यसरी नै निहुरिन जानेकी अनिताले काली गण्डकीको सेरोफेरो र सेतोबाघ मात्र होइन, पाकेटमार, छहारी, द कमाण्डो, पराइघर, चाँदनी, नगदनारायण, यो मायाको सागर, लगनगाँठो लगायत दर्जनौं दर्जन चलचित्रमा अभिनय गरेकी छन्। सेतोबाघ जस्तै अर्को ऐतिहासिक नेपाली चलचित्र बसन्तीमा पनि सानो रोल गरेपनि नोटिस हुने रोल गरेकी छन्।

बाइस बर्षको अभिनय यात्रामा धेरै फिल्म गरेर फरक प्रकारका दर्जनौ अभिनय गर्दा पनि घमण्ड भन्ने कुन चराको नाम हो भन्ने अनितामा अझै पनि देखिएको छैन्। शायद यो अनिता भित्रको अनिता भएको धेरैको तर्क रहेको छ।

अनिता भने यो मेरो स्वभाविकताको आकस्मिकता हो भन्छिन्। जिन्दगीलाई बाँचुञ्जेल कलाकारितामा समर्पित गर्ने सोचमा रहेकी अनिताको कलाकारिता जिन्दगीको अनुपम सोच र खोज नै हो भन्ने ठहर रहेको छ।


प्रकाशन मिति–२०७७ साल कात्तिक ९ गते आइतवार (महानवमी) ।