काठमाडौं। नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त संचार सेवा ब्लड बैंकवाट रगत तथा रक्ततत्व उपलव्ध गराउंदै आएको सेवामा शुल्क बृद्धि गरिएको छ। रक्त संकलनको रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थाको लागि नेपाल सरकार राष्ट्रिय रक्त संचार व्युरोको निर्णयानुसार कात्तिक १५ गते देखि लागू हुने गरी प्रति युनिट १ सय रुपैया बृद्धि गरिएको हो।

 

सो व्यहोराको सूचना कात्तिक १५ गते नै केन्द्रिय रक्त संचार सेवा केन्द्रकी निर्देशक डा.मनिता राजकर्णिकारको हस्ताक्षरमा नेपाल रेडक्रस सोसाइटी नेशनल हेडक्वाटरले ललितपुरको बालकुमारीस्थित ब्लड बैंकमा सूचना टाँस गरिसकेको छ। यसरी एकाएक विरामी तथा विरामीका परिवारलाई आघात पुग्ने गरी गरेको निर्णयको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले विरोध जनाएका छन्।

Mr.Prem Sagar Karmacharya-Recorded Blood Donar of Nepal

 स्वयंसेवी रक्तदाताले निःशुल्क प्रदान गरेको रगत निःशुल्क प्रदान गर्नुपर्नेमा थप शुल्क बृद्धि गर्नु र गराइनु अत्यन्त निन्दनीय र दुःखद कुरा भएको अध्यक्ष कर्माचार्यले भनेका छन्। बिगत ६ बर्ष पहिला एक युनिट रगत र रगतबाट तयार पारिएको रक्त तत्वलाई ८ सय ४० रुपैया समेत लिइसकेकोमा नेपाल स्वयंसेवी रक्तदाता समाजको बिरोध तथा ज्ञापनपत्र प्रस्तुति पश्चात् ४ सय ९५ मा सिमित पारिएको थियो। 

त्यसमा १ सय रुपैया बृद्धि गर्नु र गराइनु सरासर नेपाल रेडक्रस सोसाइटीको बदमासी भएको रेकर्डेट रक्तदाता समेत रहेका स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कर्माचार्यले भिजन संसार डटकमलाई बताएका छन्। यससंवन्धमा सवैले विरोध जनाउन अति आवश्यक भएको र स्वयंसेवीले निःशुल्क प्रदान गरेको रगत र रक्ततत्व सकभर निःशुल्क गराउनु पर्ने माग अध्यक्ष कर्माचार्यले गरेका छन्।
प्रकाशन मिति–२०७५ साल कात्तिक १७ गते शनिवार ।